बाग्लुंग, कत्तिक-२४, अर्गली मगरको पुस्तैनी ‘भुस पोल्ने पर्व’ बुधबारदेखि सुरु भएको छ । बाग्लुङको ताराखोला गाउँपालिका–२ मा बर्सेनि यो पर्व मनाइन्छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको सम्झनामा सो पर्व मनाउने प्रचलन छ । पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल गाउँमा आएका मगरहरूले पर्वको चलन बसालेको मानिन्छ । अर्गल खेलकुद विकास मञ्चका अनुसार आउँदो आइतबारसम्म विविध कार्यक्रमसहित पर्व मनाइनेछ । मञ्च परम्परागत भुस पोल्ने पर्वको संरक्षण र प्रबर्द्धनमा क्रियाशील छ । मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले हरेक वर्ष कात्तिक २४ देखि २६ गतेसम्म मुख्यरूपमा पर्व मनाउने चलन रहेको बताउनुभयो । मञ्चले यो वर्ष अघिल्लो दिनदेखि नै कार्यक्रम तय गरी पर्व मनाउन सुरु गरेको हो ।
मगर भाषा तथा संस्कृति सम्बर्द्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले भुस पोल्ने पर्वलाई प्रकृति पूजाका रुपमा लिनुभयो । उहाँका अनुसार कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने काम हुन्छ । मकै बाली भित्राएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ । शङ्खुघरका मुल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा पनि शङ्खुबारीमा पूजाआजा हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु (मुल) घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामाकरण गर्ने गरिन्छ ।
पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रुपमा बरखी उम्काउने चलन छ । २४ गते अघि जहिले मृत्यु भएको भएपनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ । २४ गते मृत्यु भएमा भने वर्ष भरिनै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ ।
मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोशेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको समितिका सचिव घर्तीमगरले बताउनुभयो । पर्वको मुख्य दिन २६ गते छापे खन्ने गरिन्छ । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पूज्ने चलन छ ।
प्रकृतिका देउता ‘शङ्खु’ को प्रतिक स्वरुप मुल घर र बारीलाईसमेत शङ्खु भनेर चिनिन्छ । पूजाको विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवतीहरु पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बिउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् । मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन् र खेती लगाएको सन्देश दिन्छन् ।
पुत्र बढाइँमा गोपीचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन पनि छ । बाह्र मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पाल्ने पर्व पनि लिएर आएको गाउँका अगुवा बताउँछन् । पर्वका अवसरमा आयोजना गरिएको खुला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भइसकेको मञ्चले जनाएको छ । महिला भलिबल, सामूहिक लोकनृत्य, धनुषवाण, रस्साकस्सीलगायत प्रतियोगितात्मक खेल पनि आयोजना गरिएको छ । सांस्कृतिक नाच र झाँकी पनि प्रदर्शन गरिनेछ । श्रोत : ओएस नेपाल
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )