काठमाडौँ, असोज-२०, लगातार पानी पार्ने मौसमी गतिविधि सक्रिय रहेकाले मौसम सुधार हुन अझै केही दिन लाग्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी, मध्य, तराई र गण्डकी प्रदेशका क्षेत्रमा शुक्रबारदेखि मौसम केही सुधार हुन थाल्ने छ । तर कर्णाली तथा सुदूरपश्चिमसहितका क्षेत्रमा मौसम केही सुधार हुनका लागि आइतबारसम्म पर्खिनु पर्ने मौसमविद मञ्जु बासीले बताएकी छन् ।
दक्षिण पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपासमा बसेको न्यून चापीय क्षेत्रको प्रभावका कारण पानी पार्ने बादल नेपाल प्रवेश गर्दा विगत दुई दिनदेखि झरी परिरहेको हो । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा शुक्रबारदेखि मौसम केही सुधार हुने तर पूर्ण रुपमा सुधार भएर वर्षा रोकिन केही दिन लाग्ने मौसमविदले बताएका हुन् ।
यस्तै कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा भने शनिबारसम्म नै बदली तथा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना छ । ती क्षेत्रमा मौसम सुधार हुनका लागि आइतबारसम्म नै पर्खिनु पर्ने मौसमविद बासीले बताइन् । आइतबारदेखि ती क्षेत्रमा मौसम केही सुधार हुन सक्ने छ ।
हालको मौसमी प्रणाली बाहिरिएपछि मात्रै मनसुन कति समय रहन्छ वा कहिले बाहिरिन्छ भन्नेबारे बताउन सकिने महाशाखाले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । तर बाहिरिनु पर्ने बेलामा मनसुन सक्रिय हुँदा भित्र्याउने बेला भएको तथा बाल लाग्दै गरेको धान बालीमा क्षति पुग्ने भएको छ ।
पानी लगातार परिरहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )