म्याग्दी, पुष-६, म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी मावि र प्राविधिक शिक्षालयमा निर्माण भएको चारवटा भवनको सोमबार एकैदिन उद्घाटन भएको छ । रु एक करोड ७६ लाख लागतमा लायन्स क्लबको अन्तर्राष्ट्रिय कोषले किसानी प्राविधिक शिक्षालयमा फर्निचरसहित तीनतले, आठकोठे भवन र शौचालय निर्माण गरेको छ । सो भवनको लायन्स क्लबका पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले उद्घाटन गर्नुभएको थियो ।
दुईतले भूकम्प प्रतिरोधी क्षमताको भवन अपांगमैत्री छ । बाली र पशु विज्ञान विषयमा डिप्लोमा तहसम्मको पठनपाठन हुने शिक्षालयमा २०७ विद्यार्थी रहेका छन् । लायन्स क्लबले यसअघि सिभिल इञ्जीनियरिङ विषयको पढाइ हुने बेनी नगरपालिका–९ तोरीपानीको गलेश्वर माध्यमिक विद्यालयमा आठकोठे भवन निर्माण गरेको थियो । बाँकी तीनवटा किसानी माविको कक्षा कोठा भवन तत्कालीन शिक्षा कार्यालय, राष्ट्रिय पुनः निर्माण प्राधिकरण र मालिका गाउँपालिकाको सहयोगमा निर्माण भएको हो । एउटा चारकोठे भवनको नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले, १० कोठे भवन पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुन र अर्को चारकोठे भवन शिक्षक महासङ्घका पूर्वअध्यक्ष बाबुराम थापाले उद्घाटन गर्नु भएको थियो ।
चारकोठे भवन निर्माणका लागि शिक्षा कार्यालयले ३५ लाख र अर्को चारकोठे भवन बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले र ७० लाख रुपैयाँ उपलब्ध गराएको थियो । मालिका गाउँपालिकाको सहयोगमा बनेको १० कोठे तीनतले भवन निर्माणको लागत विवरण माग्दा विद्यालयका प्रअ जंगबहादुर गर्बुजाले फोन उठाएनन् ।साधारणतर्फ कक्षा १२ सम्मको पढाइ हुने किसानी माविमा ५०० भन्दा बढी विद्यार्थी छन् । भवन उद्घाटन कार्यक्रममा पूर्वमुख्यमन्त्री गुरुङले गुणस्तरीय शिक्षाका लागि प्राविधिक शिक्षालयमा पर्याप्त र दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने कुरा बताउनुभयो ।
वर्तमान गठबन्धन सरकारले एक घर एक धारा, उज्यालो प्रदेश, पालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति, नमूना तथा आवासीय विद्यालय कार्यक्रमको बजेट कटौती गरेको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभयो । कार्यक्रममा एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, वडाध्यक्ष रेशम जुग्जालीलगायतको उपस्थिति रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )