पर्वत, मङ्सिर-२०, सोमबार नेपालमा पहिलोपटक कोभिड–१९ विरुद्धको ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकी मुलुकबाट मसिंर ३ गते नेपाल भित्रिएका एक विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एक नेपालीमा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ओमिक्रोन भेटीए पछी डर र त्रासको तरङ्ग फैलिएको छ यसको बारेमा स्वास्थ्य कर्मीले नेपालमा कोभिड–१९ का दुईवटा लहरमा मुख्यत: तीनवटा भेरियन्ट देखिएको बताएका छन् । त्यसमध्ये सबैभन्दा डेल्टा भेरियन्टले बढी असर गरेको थियो । डेल्टा भेरियन्ट अन्यभन्दा बढी संक्रामक र घातक देखिएको थियो । ओमिक्रोन कति घातक भन्नेबारे विश्व स्वास्थ्य संगठनले अहिलेसम्म पनि अनुसन्धान गरिरहेकै छ । विभिन्न विश्वविद्यालय र सरोकारवालाहरूले पनि यसबारे अध्ययन गरिरहेका छन् ।
ओमिक्रोनको उद्गमस्थल दक्षिण अफ्रिकी मुलुकका चिकित्सकहरूले ओमिक्रोनको असर डेल्टा भेरियन्टभन्दा ‘माइल्ड’ अर्थात् हल्का किसिमको भएको बताइरहेका छन् । ‘साउथ अफ्रिकन मेडिकल असोसिएसन’ की प्रमुख डा. एन्जेलिक कोएटजीले ओमिक्रोन संक्रमितमा सबै लक्षणहरू एकदमै हलुका किसिमको रहेको र कसैलाई पनि आईसीयूमा भर्ना गर्नु नपरेको बताएकी छन् ।
उनकाअनुसार डेल्टा भेरियन्ट जसरी मानिसहरूमा स्वाद, गन्ध थाहा नपाउने समस्या देखिएको छैन । त्यस्तै अक्सिजनको स्तरमा ठुलो गिरावट पनि नदेखिएको र प्रायः बिरामीहरू घरमै बसेर ठिक हुने गरेको डा. कोएटजीको अनुभव छ । भारतमा पुष्टि भएका ओमिक्रोन संक्रमितहरूमा पनि अस्पताल भर्ना हुनेको दर एकदम कम रहेको भारतीय स्वास्थ्य निकायहरूले जनाएका छन् ।
ओमिक्रोनका कारण हालसम्म कुनैपनि देशमा मृत्यु भएको रेकर्ड छैन । संक्रमणका हिसाबले ओमिक्रोन भेरियन्ट एक जनाले ३५ जनासम्मलाई सार्नसक्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह बताउँछन् । विश्व स्वास्थ्य संगठनले पनि ओमिक्रोन डेल्टाभन्दा बढी संक्रामक भएकाले समुदायमा छिटो फैलिनसक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागु गर्न दक्षिण पूर्वी एसियाली मुलुकहरूलाई समेत सजग गराइरहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )