पर्वत, भदौ-९, तनहुँकाे व्यास नगरपालिकाले १३ भदौदेखि विद्यालय खुलाउने तयारी गरेको छ । विद्यालय खुलाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्न जिल्ला कोभिड व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय व्यास नगरपालिकाले गरेको हो ।
स्मार्ट लकडाउन कार्यविधि २०७८ बमोजिम भरसक अनलाइन कक्षा र अनलाइन कक्षा सञ्चालन हुन नसकेमा विद्यालय खुलाएर प्रत्यक्ष विधिबाट पठनपाठन सञ्चालन गर्न कोभिड व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय कार्यपालिका बैठकले गरेको व्यास नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनु भएकाे छ ।
‘प्रत्यक्ष कक्षा चलाउँदा २५ जनाभन्दा बढी विद्यार्थी कक्षामा रहने छैनन् । स्वास्थ्यको मापदण्ड पनि पूर्णरुपमा पालना गर्ने सर्तसहित सिफारिस गरेका छौँ’, उहाँले भन्नु भयाे ।
विद्यालय खुले पनि भर्चुअल कक्षालाईसमेत निरन्तरता दिइने श्रेष्ठको भनाइ छ । उहाँले भन्नु भयाे, ‘विद्यार्थी आलोपाले कक्षामा उपस्थित हुनेछन् । घरमा बसेका विद्यार्थीलाई अनलाइन कक्षा पनि चल्नेछ ।’
व्यासमा सामुदायिक र निजी गरेर एक सय २० विद्यालय सञ्चालनमा छन् । विद्यालयलाई प्रविधिमैत्री बनाउन एक लाख रुपैयाँका दरले उपलब्ध गराउने उहाँले जानकारी दिनु भयाे । हालसम्म नगरपालिकामा प्रस्ताव पेस गरेका ४९ विद्यालयलाई प्रविधिमैत्री बनाउन एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन कार्यापालिका बैठकले निर्णय गरेको श्रेष्ठले बताउनु भएकाे छ । नगरपालिकामा ७५ सामुदायिक विद्यालय सञ्चालित छन् ।
वैशाखमा दोस्रो लहरको कोरोना फैलिएपछि जिल्लाभरका विद्यालय बन्द भए । साउन तेस्रो साता जोखिम कायमै रहेका बेला पनि व्यासमा केही विद्यालय विद्यालय खुलेका थिए । जिल्ला प्रशासनले फेरि बन्द गर्न उर्दी जारी गरेसँगै बन्द भए । अहिले बजार क्षेत्रका विद्यालयले अनलाइन कक्षा चलाए पनि गाउँका विद्यार्थी भने पढाइबाट वञ्चित छन् ।पोखरान्युजबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )