तनहु, असार-१७, अविरल वर्षासँगै आएको पहिराले घर पुरिँदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र भिमादमा घर भत्किँदा सात जना घाइते भएका छन् ।
बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। पहिरामा परी बन्दीपुर–३ तामुङमा सुभाष थापा, लीलबहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन् । सोही ठाउँका ७० वर्षीया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापाको मृत्यु भएको छ ।
भिमाद नगरपालिका –५ मा पहिराले घर भत्किँदा ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका २५ वर्षीय छोरा रोजन घाइते भएका छन् । उनीहरुको भिमाद पोलिक्लिनिकमा उपचार भइरहेको छ । घर भत्किँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।
शुक्लागण्डकी नगरपालिका –९ सिम्लेमा पहिराले घर पुरिँदा ५५ वर्षीया खगीमाया भुजेल र १४ वर्षीय विज्ञान घाइते भएका छन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ।
यसैगरी भिमाद –७ पट्नेरीमा माटाको ढिस्को खसेर पहिरो जाँदा मनिषा परियारका घरमा क्षति पुगेको छ । पहिराबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिराका कारण रु दश लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बन्दीपुर गाउँपालिका–१ चिसापानीमा पहिरोले राजु खड्गीको एक तल्लो गारो लगाएको घर भत्किदा रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै शुक्लागण्डकी–९ सिम्लेमा टेकबहादुर महतको गोठ भत्किँदा गोठमा रहेका दश बाख्रा र एक भैसी मरेका छन् । प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले पहिराबाट थप क्षतिको विवरण नआइसकेको जानकारी दिए।
गण्डक न्युजबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )