पर्वतका सांसद पदम गिरीले जिल्लाको समग्र विकासमा आफु सँधै प्रतिबद्ध रहेको बताएका छन् । सदरमुकाम कुश्मामा रहेको मोदीकाली बुद्ध सेवा समाज, नमोबुद्ध आनन्द गुम्वा आमा समुह र बौद्ध युवा संघको संयुक्त आयोजनामा ट्रस्ट भवन उद्घाटन तथा विविध सास्कृतिक कार्यक्रममा बोल्दै सांसद गिरीले आफु निवर्तमान भएपनि जिल्लाको विकासका लागि सँधै लागि रहने प्रतिबद्धता जनाएका हुन् ।
सांसद गिरीको पूर्वाधार साझेदारी अन्तर्गतको १० लाख रुपैयाको लागतमा बनेको ट्रस्ट भवनको बुधबार ल्होसार पर्वको अवसरमा गिरीले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद गिरीले नेपालको मौलिक संस्कृतिको जगेर्ना र संरक्षणवाट मात्र हाम्रो पहिचान र अस्तित्व कायम रहने बताए । कार्यक्रममा बोल्दै गिरीले आफु सांसद रहँदा जिल्लाको शिक्षा, पर्यटन, पुर्वाधार र संस्कृतिलाई मुख्य प्राथमिकतामा राखेर समृद्धिउन्मुख कार्य अघि बढाएको बताए ।
उनले आफु ५ वर्षका लागि जनताहरुको मत लिएर प्रतिनिधिसभामा पुगेको भएपनि विषम परिस्थितिका कारण पछि हट्नपरेको बताउँदै पुनः नयाँ जनादेशवाट पर्वतवासीहरुको सेवामा सक्रिय हुने प्रतिवद्धता व्यक्त गरे ।
पार्टीभित्रकै षडयन्त्रकारीका कारण प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न बाध्य हुनुभएको बताउँदै निवर्तमान सांसद गिरीले अबको नयाँ निर्वाचनपछि आउने जनादेशवाट मुलुकको विकास र समृद्धिको थप खाका कोर्नेगरी अघि बढ्ने बताए ।
्कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, कुश्मा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मिना कर्माचार्य, नमोबुद्ध आमा समुहका अध्यक्ष उर्मिला गुरुङ लगायतले बोलेका थिए । मोदीकाली बुद्ध सेवा समाजका अध्यक्ष धनरास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत देवी गुरुङ र संचालन सचिब विपिन गुरुङले गरेका थिए ।
कार्यक्रममा लोक गायक शंकर बिरही गुरुङ, इन्द्रा गुरुङ, सविना गुरुङ, सरुन गुरुङ लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए । सो अवसरमा युवा नेता गिरीलाई गुरुङ समुदायको भांग्रा र फेदा लगाएर सम्मान समेत गरिएको थियो ।