पर्वत, बैशाख- ५, भागबन्डा मिलाउन नसक्दा पर्वतमा पाँचदलीय गठबन्धनमा सामेल दलहरू आगामी स्थानीय तहको चुनावमा एक्लाएक्लै जान सक्ने अवस्था देखिएको छ ।
लगातार वार्ता र सहमतिको प्रयास भइरहे पनि दलहरूले आ–आफ्ना हठ नछाडेपछि गठबन्धन नै टुट्न सक्ने अवस्थामा पुगेको गठबन्धनको बैठकमा सहभागी एक नेताले बताएका छन्अ उनका अनुसार हरेक दिनको बैठकमा नेकपा माओवादी केन्द्रले आफ्नो हठ नछाडेका कारण समस्या भइरहेको छ।
गठबन्धनमा रहेका जनता समाजवादी र एकीकृत समाजवादी लचिलो भए पनि माओवादीले भने अघिल्लो पटक कांग्रेसले जितेको कुश्मा नगरपालिका, जलजला गाउँपालिका र पैयुँ गाउँपालिकामध्येको एउटामा प्रमुखको दाबी गरिरहेको छ।
‘आइतबारसम्म लगातार बैठक र छलफल हुँदै आएको भए पनि सोमबारको बैठकमा घरी कांग्रेस आएन, घरी माओवादी आएन। माओवादी अलिकति पनि लचक नभएका कारण गठबन्धन नाजुक अवस्थामा पुग्यो,’ ती नेताले भने, ‘सोमबार पनि बैठक बस्ने भनेको हो। बैठक बस्न नसकिरहेको अवस्था छ। दलहरूले आ–आफ्नै हठ गर्ने हो भने त गठबन्धन कसरी बलियो हुन सक्छ र?’
एकीकृत समाजवादी भने फलेवास नगरपालिकामा आफूले प्रमुख पद पाउनुपर्ने अडानमा रहेको छ। जनता समाजवादी पार्टीले यही नै हुनुपर्छ भनेर अडान नराखेको तर आफूहरूलाई पनि सम्मानजनक रूपमा व्यवस्थापन गरिनुपर्ने माग राख्दै आएको छ।
नेपाली कांग्रेस पर्वतका सचिव गुप्तनिधि शर्माले माओवादीले केन्द्रीय निर्देशनलाई अवज्ञा गर्न खोजिरहेको जिकिर गरे। अघिल्लो स्थानीय तहमा जुन दलले जितेको हो त्यहाँ त्यही दलको उम्मेदवार बनाउने र हार बेहोरेको ठाउँमा गठबन्धनमा सहभागी दलहरूबाट साझा उम्मेदवार बनाउने भनेको भए पनि पर्वतमा त्यस्तो नभएको उनको तर्क छ।
‘माथिबाट आएको निर्देशन नै नमान्ने हो भने त कसरी गठबन्धन हुन सक्छ? कांग्रेसले जुन जुन ठाउँमा जितेको छ त्यही ठाउँमा दाबी गरेर कसरी सहमतिमा पुगिन्छ?,’ उनले भने, ‘यस्तै अवस्था रह्यो भने त गठबन्धन नहुन पनि सक्छ। हामीलाई पनि कार्यकर्ताको तीव्र दबाब आइरहेको छ। हामीले गठबन्धनका नाममा गलत निर्णय गर्यौं भने कार्यकर्ताले नै हामीले भनेको नमान्ने अवस्था आउँछ।’
यता नेकपा माओवादी केन्द्र पर्वतका अध्यक्ष केशव कुँवरले भने गठबन्धनमा कुनै मतभेद र हठ नरहेको तथा आफूहरू सहमति नजिक पुग्न लागेको दाबी गरेका छन्। गठबन्धनमा रहेका कुनै पनि दलहरूले मलाई यो स्थानीय तह चाहिन्छ नै भनेर घमन्ड नगरेको र सबैको साझा उद्देश्य गठबन्धन बाहेकका दलहरूलाई पराजित गर्नेमा नै केन्द्रित रहेको उनको भनाइ छ।
‘गठबन्धनमा कुनै पनि समस्या छैन। हामी सहमतिको नजिक-नजिक पुगेका छौँ। मंगलबारसम्ममा ठोस निर्णयमा पुगिन्छ होला। कांग्रेसले पनि मलाई यही चाहिन्छ भनेको छैन, हामीले पनि भनेका छैनौँ,’ उनले भने, ‘हामी लगातारका वार्तामा पनि गठबन्धनलाई बलियो बनाउने, सक्षम र असल उम्मेदवार खडा गर्ने लगायत विषयमा छलफलमा जुटेका छौँ।’
एक हप्ताभन्दा लामो समयदेखि दिनहुँ बैठक बसिरहँदा कसैले पनि म यो पालिकामा लड्छु भनेर मनसाय व्यक्त गरेनन् भन्ने प्रश्नको जवाफमा उनले अहिलेसम्म कसैले पनि यो त्यो मलाई चाहिन्छ भनेर कुरा नै नराखेको दाबी गरे।
माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष शङ्कर गिरीले पनि वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको दाबी गरे। अहिले चलिरहेका वार्तामा आफू सहभागी नभएको बताउँदै उनले लोकतन्त्र र सङ्घीयताको रक्षाको लागि गठबन्धनमा रहेका सबै दलहरू लचिलो बनेर सहमतिमा पुग्नुपर्ने बताए।
माओवादीले केन्द्रीय निर्देशनलाई मिचेको हो? भन्ने प्रश्नमा उनले केन्द्रीय निर्देशनलाई मान्नुपर्ने तर पर्वतको हकमा यसरी जाँदा सबै ठाउँमा जित्न सकिन्छ भनेर माओवादीले प्रस्ताव गरेको गरेको बताए।
‘गठबन्धनले जित्नुको विकल्प छैन। हामीहरू जसरी पनि एकै ठाउँमा उभिनै पर्छ। वार्ताहरू पनि सकारात्मक रूपमा अगाडि बढिरहेका छन्,’ उनले भने, ‘केन्द्रको निर्देशनलाई अटेर गरेको होइन कि यहाँको परिवेशअनुसार स्थानीय रूपमा यसरी मिल्न सकियो भने हामीहरूले जित्ने अवस्था आउँछ भनेर माओवादीले प्रस्ताव गरेको हो।’
माओवादीका दुवै जना नेताहरूले वार्ता सकारात्मक मोडमा पुगेको बताए पनि वार्तामा सहभागी अन्य दलका नेताहरूले भने दलहरूकै एकोहोरो अडानका कारण गठबन्धन सङ्कटमा रहेको स्वीकार गरेका छन्।
२०७४ सालमा स्थानीय तहको निर्वाचनमा ७ ओटा स्थानीय तहमध्ये ४ ओटामा नेकपा एमाले र ३ ओटामा नेपाली कांग्रेसले जीत हात पारेका थिए। फलेवास नगरपालिका, बिहादी गाउँपालिका, महाशिला गाउँपालिका र मोदी गाउँपालिकामा एमालेले जितेको थियो भने कुश्मा नगरपालिका, जलजला गाउँपालिका र पैयुँ गाउँपालिकामा कांग्रेस विजयी भएको थियो।थाहाखबरबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )