म्याग्दी, पुष-२७, म्याग्दीमा तत्काल शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् । मंगलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागु गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो ।
मन्त्रालयले बार्षिक विदामा समायोजन हुने गरि शैक्षिक संस्थाहरु बन्द गर्न भनेपनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्ला स्थित सरोकारवालाहरुको सल्लाह बमोजिम तत्काल विद्यालयहरु बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो । डिसिएमसीका संयोजक समेत रहनुभएका प्रजिअ रानाले म्याग्दी अझै पनि एल्लो जोनमा रहेकोले स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोहि कार्यविधि बमोजिम कोरोना संक्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जानकारी दिनुभयो ।
बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामाग्रीसंगै जनशक्तिलाई तयारी अबस्थामा राख्ने निर्णय समेत गरेको छ । जिल्लाव्यापी रुपमा कोरोना संक्रमणबाट बच्च र बचाउन तपाईको मास्क खोई अभियान चलाउने,सञ्चार माध्ययम मार्फत प्रचार प्रसार गर्ने, सामाजिक र भौतिक दुरी कायम गर्न लगाउने, २५ जना भन्दा बढी मानिस जम्मा भएर कुनैपनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेलाहरु नगर्ने र गर्न रोक लगाउने निर्णय समेत गरिएको छ ।
बैठकमा जिल्ला स्थित राजनीतिक दल, स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तह, सुरक्षा निकाय र संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बैठकमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, धवलागिरीका अध्यक्ष थमसरा पुन मगर,मंगलाका उपाध्यक्ष सिर्जना केसी,मालिकाका उपाध्यक्ष खरमायाँ विटालु र अन्नपूर्णका उपाध्यक्ष केशमायाँ मगरले स्थानीय तहमा कोभिड रोकथाम र उपचारको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
स्थानीय तहमा तत्काल विद्यालय बन्द भन्दा पनि चेतनामुलक अभियानलाई प्राथमिकता दिन जनप्रतिनिधि सहित सरोकारवाला निकायले सुझाव दिएपछि डिसिसिएमसीले नियमित विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )