म्याग्दी, कार्तिक-२६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुनका लागि म्याग्दी जिल्लाबाट ९ जना प्रतिनिधिहरु सर्वसम्मत रुपमा छनोट भएका छन् । शुक्रबार एमाले पार्टी कार्यालय हाँडेभीरमा सम्पन्न निर्वाचन कार्यक्रमअनुसार ९ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरिएको हो ।
एमालेको गएको असोज तेस्रो साता पारित नयाँ विधानअनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु छनोट गरिएको नेकपा एमाले म्याग्दीले जनाएको छ । एमाले म्याग्दीको कुल सङ्गठित सदस्य ३ हजार ७ सय ३९ मध्येबाट खुलातर्फ ५ जना, महिलातर्फ २ जना, दलिततर्फ १ र दलित महिलातर्फ १ गरी ९ जना प्रतिनिधिहरु छनोट भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
महाधिवेशनमा भाग लिनका लागि खुलातर्फ एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, संविधान सभा सदस्य नवराज शर्मा, एमाले जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी र उपसचिव देवबहादुर घले छनोट हुनुभएको छ । यसैगरी महिलातर्फ एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं पूर्व मन्त्री नरदेवी पुन र अनेमसंघका जिल्ला अध्यक्ष एवं धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन छनोट हुनुभएको छ ।
त्यस्तै दलिततर्फ एमाले गण्डकी प्रदेश कमिटी सदस्य पुस्कर विक र दलित महिलातर्फ अनेमसंघका जिल्ला सदस्य एवं मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु सर्वसम्मत छनोट हुनुभएको हो । गएको असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा सम्पन्न एमालेको प्रथम ऐतिहासिक विधान महाधिवेशनबाट पारित नयाँ विधानअनुसार आसन्न पार्टीको महाधिवेशनका लागि म्याग्दीबाट सर्वसम्मत ९ जना प्रतिनिधि छनोट गरिएको एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठले प्रतिनिधिका लागि प्रत्यासी उम्मेदवारहरुबीच आपसी सहमति गरेर सर्वसम्मत प्रतिनिधि छनोट गरिएको बताउनुभयो । एमालेको आसन्न महाधिवेशनमा भाग लिनका लागि म्याग्दीमा २२ जनाले प्रतिनिधि बन्न पाउँ भनेर उम्मेदवारी दिएका थिए । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १२ सम्म बागमती प्रदेशको चितवनमा सम्पन्न हुने भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )