पर्वत, कार्तिक-२४, नेकपा एमालेको आगामी १० औं महाधिवेशन प्रतितिधिका छनौटको लागि पर्वतमा निर्वाचन प्रक्रिया शुरु भएको छ । एमाले जिल्ला कमिटिको सचिवालय वैठकले निर्वाचन कमिटिहरु गठन गरेसंगै आज देखि नै निर्वाचनको प्रक्रिया शुरु भएको एमाले जिल्ला अध्यक्ष पदम गिरीले जानकारी दिए । एमालेले अधिवक्ता चन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा निर्वाचन समितिको गठन गरेको छ ।
समितिले आजै मतदाना नामावली प्रकाशन गर्ने र मतदाता उपरको क्षेत्र निर्धारण कार्य पनि आज नै हुने निर्वाचन समितिका संयोजक चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । निर्वाचन प्रयोजनका लागि सचिवालय वैठकले बनाएको आचार संहिता अनुसार निर्वाचनका कार्यक्रमहरु समितिले अघि बढाएको छ । सचिवालय वैठकले प्यानल बनाएर निर्वाचनमा भिड्न नपाईने तथा मतदाताले आफ्नो परिचय खुल्ने कागजातहरु मतदान स्थलमा ल्याउनुपर्ने नियम बनाएको छ ।
एमालेको १० औं महाधिवेशनमा पर्वत जिल्लाबाट कुल १३ जना प्रतिनिधि सहभागी हुन पाउनेछन् । ति प्रतिनिधिहरु जिल्ला भरका एमालेका कुल ६ हजार ७ सय ६० जना सदस्यहरुले मतदान गरेर छान्नेछन् । एमालेको सचिवालय वैठकले सकभर सर्वसहमत रुपमा प्रतिनिधि चयन गर्ने कुरामा जोड दिएको छ । निर्वाचनको प्रक्रिया लामो र झन्झटिलो समेत हुने हुँदा एमालेमा एकताको सन्देश दिने गरी निर्वाचन विना नै प्रतिनिधि चयन गर्ने गरी नेताहरु भने आन्तरीक तयारीमा जुटेका छन् । जिल्लाबाट खुल्ला पुरुष तर्फ ७ जना खुल्ला महिला तर्फ ३ जना महाधिवेशन प्रतिनिधिको रुपमा छनौट हुनेछन् ।
यसैगरी दलित तर्फबाट भने २ जना पुरुष र १ जना महिला सहभागी हुन पाउनेछन् । एमालेले जिल्ला भरका कुल पाटी सदस्यहरुबाट नै महाधिवेशन प्रतिनिधि छनौट गर्ने विधानमा उल्लेख छ । आगामी २७ गते पर्वत जिल्लामा प्रतिनिधि छनौटको कार्य तालिका रहेको छ । जस अनुसार भोली विहान १० बजे देखि ५ बजेसम्म उमेदवारी दर्ता र वेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
दावाविरोध र उमेदवारी फिर्ता पछि २७ गते दिउँसो देखि भने मतदान प्रक्रिया शुरु हुने निर्वाचन कमिटिले जनाएको छ । निर्वाचनका लागि प्रत्येक पालिकाहरुको मुकाममा निर्वाचन समितिले तोके बमोजीमको स्थानमा निर्वाचन प्रक्रिया शुरु हुनेछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )