भैरहवा, असोज-२४, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अधिग्रहण गरी बस्नेहरू र सुरक्षाकर्मीबीच भएको झडपमा परि चारजनाको मृत्यु भएको छ । घटनामा ३० बढी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतिपुर क्षेत्रमा कर्फ्यु लगाएको छ । झडपमा परी मृत्यु भएका कपिलवस्तु जिल्ला बाणगंगा १० निवासी ४८ वर्षीय रमेश परियारको मात्र सनाखत भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको साथमा श्रीमती रहेकाले उनको परिचय खुलेको अस्पतालले जनाएको छ ।
अन्य तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएकाले शवगृहमा राखिएको मेडिकल कलेज रानी गाउँ भैरहवाका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । अस्पतालमा घाइते गुल्मी ४ रैतौलीका वर्ष ३३ का जंगबहादुर परियार, हुमिन ४ पाल्पाका वर्ष ३५ का गम्भीरसिंह डिसा, तानसेन १० पाल्पाका वर्ष ३८ का प्रेम बिक, नवलपरासी प्रतापपुर ठूलो खरेताका वर्ष २२ का सरबेश केवटको उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले साँझसम्म पनि समूहमा आउने र पछि तितरबितर हुने अवस्था रहेको बताए। झडपमा परी घाइते हुनेहरूको बुटवलको प्रादेशिक अस्पताल, भैरहवाको मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले बताए ।
मेडिकल कलेजमा प्रहरीहरू वर्ष २१ का महेन्द्र वली, वर्ष २२ का निर शंकर केसी, वर्ष २६ का सुरेन्द्र रोकाया र वर्ष ३० का खगेन्द्रप्रसाद यादवको उपचार भैरहेको छ । मोतिपुर औद्याेगिक क्षेत्रमा अस्थायी टहरा बनाएर बसेकालाई प्रहरीले हटाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । नयाँपत्रिकाबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )