काठमाडौँ, भदौ-१०, संसदीय समितिले कक्षा १२ का परीक्षार्थीका लागि तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले कक्षा १२ को परीक्षार्थीका लागि कोरोनाविरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परीक्षाका लागि वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
‘शिक्षा मन्त्रालयलाई तुरुन्तै व्यवस्था गरेर अगाडी बढ्न हामीले भनिसक्यौँ । स्वास्थ्य मन्त्रालयले गर्ने काम चाहिँ खोपको व्यवस्थापन कति दिनभित्र गर्न सक्नुहुन्छ त्यो व्यवस्था गरेर तुरुन्तै परीक्षाको वातावरण बनाइदिनुपर्यो । खोप स्वास्थ्य कार्यालयले छिटो गरोस्,’ सरकारलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तीले भनिन् ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेकाले सोही खोप कक्षा १२ का परीक्षार्थीहरूलाई उपलब्ध गराउन सुरु गरिसकेको बताए । देशभरका गाउँ तथा शहरका कक्षा १२ का परीक्षार्थीले खोप लगाउन पाउने उनले बताए ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप खरिदको प्रक्रिया अगाडि बढाएको बताए । उनले हुम्ला, जुम्ला, मुगु, मुस्ताङ, मनाङ जस्ता जनसंख्या कम भएका ग्रामिण भेगमा र काठमाडौं उपत्यका, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर २ लगायतका जनसंख्या बढी भएका स्थानहरूमा खोपको प्राथमिकतामा राखिएको बताए ।त्यस्तै पोखरा, भैरहवा, लुम्बिनी र चितवनजस्ता पर्यटकीय गन्तव्यमा पनि खोपलाई प्राथमिकता दिइएको उनले बताए । बैठकमा मन्त्री श्रेष्ठले हालसम्म १ करोड ३२ लाख खोप आएको र ९० लाख जनताले खोप पाइसकेको जानकारी दिएका थिए । शिलापत्र अनलाइनबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )