म्याग्दी, भदौ-८, दुइ दिनदेखि परेको अविरल वर्षाका कारण म्याग्दीमा एक घर भत्किएको छ । जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर सालघारी बस्ने भीमबहादुर थापाको दुईतले घरमा पानी चुहिएर गाह्रो भत्किएको छ । गाह्रो भत्किएर घरमा बस्न नमिल्ने भएपछि थापाको परिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
वर्षाकै कारण सडकभन्दा माथिबाट पहिरो खसेर मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड समेत बन्द भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोला, ३ नम्बर वडा राहुघाट र अन्नपूर्ण गाउँपालिका-३ दानाको जलथलेमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।
त्यस्तै पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि अवरुद्ध बनेको छ । वर्षाका कारण जिल्लाको बेनी नगरपालिका-४ तातोपानी नजिकै घुमाउने भीरमा पहिरो खसेर बेनी–दरबाङ सडक पूर्ण रुपमा बन्द भएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी–बाग्लुङ खण्डको रत्नेचौरको रानीवन क्षेत्रमा पनि वर्षाले सडक हिलाम्मे भएपछि बन्द भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )