दाङ, साउन-२८, राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बगेकी टेकरानी चौधरीको चार घण्टापछि सकुशल उद्धार गरिएको छ। बिहीबार अपराह्न चार बजेतिर गढवा गाउँपालिका–३ गोवरडिहाबाट नदीमा बगेकी उनको आठ किलोमिटर टाढा लमही नगरपालिका–४ बुटकौवास्थित टापुबाट सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुरान मल्लले जानकारी दिए।
उनको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ। पौडिन जानेकी चौधरी पानीमा टाउको नडुबाइ उत्तानो परेर तैरिएकी थिइन्। ‘म बाँचिसकेँ। चिन्ता नलेऊ,’ आफन्तलाई फोनबाट जानकारी दिँदै चौधरीले भनिन्, ‘बाढीले बगाइरहँदा भगवान पुकारेँ।’ बाढीमा बेपत्ता भएकी चौधरी सकुशल फर्किने आशा आफन्तले मारिसकेका थिए।
‘दाउरा टिप्न जाँदा बग्नुभएछ। गाउँलेले उद्धार गर्न खोजेका थिए। तर, सकेनन्,’ भतिजा कालिचरण चौधरीले भने, ‘अन्टिलाई सकुशल देख्दा खुसी छौँ।’
बाढीमा बेपत्ता भएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी उद्धरमा परिचालन भएका थिए।
राप्ती नदीमा पानीको सतहले खतराको तह पार गर्न थालेपछि सतर्कताको लागि प्रशासनले सार्वजनिक सूचनासमेत जारी गरेको छ। अविरल वर्षाका कारण हुन सक्ने जोखिमबाट जोगिन दाउरा टिप्न नदी किनारमा नजानसमेत आग्रह गरिएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )