जुम्ला, साउन-२८, सदरमुकाम जुम्ला खलङ्गा बजारभित्र पसेर तीन जना स्थानीयमाथि आक्रमण गरी घाइते बनाउने भालुलाई गोली हानेर मारिएको छ । चन्दननाथ नगरपालिका–४ कार्कीवाडा जुम्लाका २९ वर्षीय हिमबहादुर रोकाया र उनको श्रीमती २६ वर्षीया निर्मला थापा रोकायालाई आज बिहान साढे ५ बजे तिर भालुले आक्रमण गरी घाइते बनाएको थियो । श्रीमान् हिमबहादुरलाई नुहाइरहेका अवस्थामा भालुले आक्रमण गरेको थाहा पाएर चिच्याउने बित्तिकै आफूलाई चिथोरेको पीडित निर्मलाले बताए ।
चन्दनाथ नगरपालिका– ६ सिंगाचौर गाउँ जुम्लाका हिरा सार्कीलाई पनि भालुले घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । टाउको र अनुहारमा आक्रमण गरी घाइते बनाएका तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
भालुले स्थानीयमाथि आक्रमण गरी घाइते बनाएको खबर बिहान पाएलगत्तै प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंसहित सुरक्षा निकायको टोली घाइतेको उद्धार र भालुको खोजीकार्यमा लागेको थियो । भालु बजारमा छिरेर स्थानीयमाथि आक्रमण गरेपछि भालु आतङ्कले जुम्ला सदरमुकाम दिनभर तनावग्रस्त बनेको थियो ।
चन्दननाथ नगरपालिकाको सिंगाचौरको गोठमा बिहान ९ बजे पसेको भालु सुरक्षित नियन्त्रणका लागि प्रजिअ प्रसाईंसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले तीन घण्टा गाउँ नै सुरक्षा दिएर भालुलाई नियन्त्रण गरेको थियो । भालुलाई सुरक्षित नियन्त्रण गर्न डिभजन वन कार्यालय जुम्लाका कर्मचारी पनि सो स्थानमा पुगेका थियो ।
बजारमा मान्छे घाइते बनाउँदै हिँडेको भालुलाई जीवितै नियन्त्रणमा लिन खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेपछि स्थानीय प्रशासनको निर्देशनमा उक्त भालुलाई गोली हानेर मारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । मारिएको भालुको पशुविज्ञबाट शव परीक्षण गरेर अन्त्येष्टि गरिने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले जानकारी दिए । रासस
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )