जलजला अनलाइन, साउन-६, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा मतभेदपछि एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा गरे । राजीनामा स्वीकृत भइसकेको त छैन तर असन्तुष्ट समूहका नेता माधव नेपालसँग उनको सम्बन्ध भने चिसिएको छ ।
उपाध्यक्ष रावलले निकटस्थलाई बताएअनुसार, उनी नेता नेपालसँग असन्तुष्ट हुनुका मुख्यतः चार कारण छन् ।
१. आफूलगायत कार्यदलका सदस्य र पदाधिकारीलाई जानकारी नै नदिएर मेटमणि चौधरी, रामकुमारी झाँक्री, विरोध खतिवडालगायतका हार्डलाइनरलाई अघिल्लै दिन तयार रहन खबर पठाउनुले नेता नेपालले आफूलाई पूरै अविश्वास गरेको रावलले ठाने । ३० असारमा प्रधानमन्त्री देउवालाई निवासमै बोलाएर विश्वासको मत दिने प्रतिबद्धता जनाउँदा पनि रावललाई बाइपास गरियो ।
२. माधव नेपालको सचिवालयबाट भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रतिनिधि भेट्न मेरियट होटल गएको हल्ला फैलाइएको रावलको बुझाइ छ । केही अनलाइनमा सामाचार आएपछि खण्डनमा उनले धेरै समय खर्च गर्नुपर्यो । २० असार साँझ ओलीले बोलाएपछि रावल बालुवाटार गएका थिए । बालुवाटारबाट निम्ता आउँदा उनी नेपाल निवास कोटेश्वरमा थिए । नेता नेपाललाई जानकारी गराएरै उनी ओलीलाई भेट्न गएका थिए । नेपाल–रावल सम्बन्ध चिसिएकै त्यही दिनदेखि हो ।
३. वरिष्ठ नेता नेपालले कार्यदलले गरेको १०बुँदे सहमतिको स्वामित्व नलिएकोमा पनि नेता रावल असन्तुष्ट थिए । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको सहमतिमै कार्यदल ब्युँताइसकेपछि त्यसले गरेको सहमति नस्वीकार्नु अराजनीतिक हुने रावलको अडान छ । उनी अहिले पनि सहमति कार्यान्वयन गरेर पार्टी एकता जोगाउनुपर्ने पक्षमा छन् । राजीनामा फिर्ता गर्न दबाब दिन सुदूरपश्चिमबाट आएका १४ सांसदसँगको भेटमा पनि उनले भनेका थिए, ‘कार्यदल बनाएर पठाइसकेपछि त्यसले गरेको सहमति स्वीकार्नुपर्छ ।’
४. आफ्नो विकल्पमा सुदूरपश्चिमकै प्रेम आलेलाई समेट्नु । प्रधानमन्त्रीको विश्वासको मतमा तटस्थ बसेका रावलनिकट नेता झपट रावलले संसदबाट बाहिरिँदै गर्दा भनेका थिए, ‘प्रतिगामीले नै मत दिने भएपछि हामीले भोट दिइरहनुपरेन ।’
एमालेको नवौँ महाधिवेशनमा नेपाल पक्षबाट वैकल्पिक केन्द्रीय सदस्य जितेका आले नेता रावलसँग कुरा नमिलेपछि ओली समूहमा लागेका थिए । वरिष्ठ नेता नेपाल र रावलबीच सम्बन्ध चिसिएका बेला उनी पुनः नेपाल समूहमा लागेका हुन् ।
शिलापत्रको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )