पर्वत, साउन-१, आज साउने सक्रान्ति, नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन ।
आज दिनैभरि स्याल-धोति, पटपटे, पाती, मगरघाची, शिरु, कुरिलो, कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती आदि बनस्पति खोजेर साँझपख कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । केहि वर्षा यता भने यो चलन केहि हराउदै गएको छ ।
वारी र पारी साँझपख अगुल्टा फ्याँकेको झिलि र मिलि देखिन्थ्यो तर अहिले कतिपय ठाउँमा यो चलन लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले यी क्रियाकलापलाई निरन्तरता दिन सकेका छैनन् । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।
पर्बत र म्याग्दीको सवालमा भने खोलापारी र वारी एकले अर्कोलाई गालीगर्दै लुतो खटिरो लैजा भन्ने चलन छ । मल्लाजीले पुलामी, रखाले, ज्याम्रुके, धाइरिंगेलाइ लुतो-पुतो लैजा भन्दै अगुल्टो फाल्ने चलन छ । पारीकाले-वारिकालाई, वारिकाले-पारिकालाई गालिगर्दै फ्याक्ने गरिन्छ अनि बेलुका बिशेषगरी चाम्रे खाने चलन यो भेगमा छ ।
पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ ।सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखा माथि जाने भएकाले साउने सङ्क्रान्तिलाई कर्कट सङ्क्रान्ति भन्ने गरिन्छ । कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।
असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ । महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकीले सोमबारको व्रतको महत्व छ ।
साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनाभर शिवालयमा दर्शनार्थीको अत्यधिक भीड लाग्छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )