पर्वत, जेठ-१४, नेपालका सुविधा सम्पन्न विद्यालयहरुमध्ये एक मानिने ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द हुने भएको छ । आर्थिक संकटको कारण देखाउँदै ललितपुरको लामाटारस्थित सो विद्यालय बन्द गर्न लागिएको हो । विद्यालयले विहीबार राति अभिभावकहरुलाई इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द हुने औपचारिक जानकारी गराएको छ ।
विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले विद्यालय बन्द हुने गत सोमबार अनौपचारिक रुपमा जानकारी गराउनु भएको थियो । उक्त जानकारी पश्चात अभिभावक सहितको भर्चुअल बैठकमा अभिभावकले सकेको सहयोग गर्न तयार रहेको तर विद्यालय बन्द नगर्न अनुरोध गरेका छन् । अभिभावक एवं शिक्षकसहित बसेको बैठकमा पनि शिक्षक एवं अभिभावक सबैले सक्दो सहयोग गर्ने र विद्यालय बन्द नगर्न अनुरोध गरेका थिए ।
अभिभावक र शिक्षकसहित बसेको बैठकपछि राति विद्यालय बन्द गर्ने औपचारिक इमेल आएको अभिभावक डा.उमेश राजोपाध्यायले बताए ।
कतिपय अभिभावकले शुल्क नतिरेको र त्यही कारण आर्थिक संकट परेको कारण देखाए पनि संस्थापनको जसरी पनि विद्यालय बन्द गर्ने मनसायको कारण बन्द हुन लागेको अभिभावकको दाबी छ ।
विद्यालयलाई संकट परेको भए हामी अभिभावक, शिक्षक सहयोग गर्न तयार छौं । विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य जोखिममा नपारौं भनेर अनुरोध गरिरहेका छौं,’ उहाँले भन्नु भयो, ‘तर संस्थापन एकोहोरो विद्यालय बन्द गराउने पक्षमा देखिन्छ ।’
विद्यालयको यो निर्णयले अभिभावक तथा विद्यार्थी अन्यायमा परेको बताउँछन् । विद्यालयले अभिभावकलाई इमाडोलमा रहेको न्यू मिलिनियम विद्यालयमा पढाउन सकिने विकल्प दिएको छ । उक्त विद्यालयसँग मर्ज गर्ने सम्झौता भएको पत्रमा उल्लेख गरेर पठाएको छ ।
आर्थिक संकटका कारण विद्यालय सञ्चालन गर्नै नसक्ने अवस्था पुगेपछि संस्थापनले विद्यालय बन्द गराउने निर्णयमा पुगेको विद्यालयका सहायक प्रधानाध्यापक प्रवेश खनालले बताउनुभयो ।
विद्यालय बन्द हुँदा शिक्षक, विद्यार्थी, अभिभावक सबै मारमा परेको तर आर्थिक संकटले चलाउनै नसक्ने अवस्थामा पुगेको संस्थापनले भन्छ भने त के गर्न सकिन्छ र अभिभावकको भनाइ छ ।
विद्यालय बन्द गर्दा अभिभावक तथा विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोलाई मध्यनजर गरेर न्यू मिलिनियम विद्यालयसँग मर्ज गर्ने सम्झौता भएको खनालले बताए ।
अनलाइनखबरको सहयोगमा