पर्बत, जेठ-४, बागलुङ भकुन्डेका कमल थापा इराक सँग हुने मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट खेलका लागि छनोट भएका छन । बागलुङ नगरपालिका -१० भकुण्डेका कमल थापाले नेपाली राष्ट्रिय फुटबल टोलीमा पहिलो पटक स्थान पाएका हुन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा थापाले मिडफिल्डरको रुपमा अवसर पाएका छन् ।
प्रशिक्षक अलमुताइरीले थ्री नेसन्स कप उपाधि जित्न सफल टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै अन्तिम टोली घोषणा गरेका हुन् । फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा ६ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।
मिडफिल्डरमा बागलुङका कमल थापा सहित सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । फरवार्ड आशिष लामा र सुमन लामासँगै मिडफिल्डर पुजन उपरकोटी पनि टोलीमा फर्किएका छन् ।
प्रारम्भिक टोलीबाट प्रशिक्षक अलमुताइरीले ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम २३ घोषणा गरेका हुन् । थ्री नेसन्स कपको टोलीबाट फरवार्डद्वय भरत खवास र दर्शन गुरुङ तथा डिफेन्डरद्वय रन्जित धिमाल र निशान खड्का टोलीमा समावेस भएका छैनन् ।
नेपाली राष्ट्रिय टोलीले मे २९ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका खेल्नेछ विश्वकप छनोटका खेल कुवेतमा हुनेछ । तीन खेल खेल्न बाँकी रहेको नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )