बेनी, फागुन-८, म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बजेट अभावका कारण म्याग्दीका सडक आयोजनाहरु निर्माण रोकिएको र बेनी – दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडानका लागि भएको निर्णय कार्यान्वयनको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
गण्डकी प्रदेशसभाको बिहिबार बसेको बैठकको शून्य समयमा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रि समेत रहनुभएका जुग्जालीले न्युन मात्रामा बजेट बिनियोजन हुँदा म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका सडक र मोटरेबल पुलका निर्माण ब्यवसायीहरुले काम रोक्न थालेका विषयमा ध्यानाकर्षण गराउनु भएको हो ।
गत वर्ष करिब रु. ६८ करोड लागतमा म्याग्दीमा सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण शुरु भएका थिए । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीहरुसँग रु. ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । अर्थ मन्त्रालयले रु. एक अर्ब २० करोड बजेटको स्रोत सुनश्चितता गरेको थियो ।
अर्थ मन्त्रालयले स्रोत सहमति र सुनश्चितता गरेर बहुबर्षीय ठेक्का सम्झौता भइसकेका आयोजनाहरुका लागि विषयगत मन्त्रालयले पर्याप्त बजेट ब्यवस्थापन नगर्दा र टुक्रे योजनामा प्राथमिकता दिँदा गण्डकी प्रदेशभरका आयोजनाहरुमा यस्तो समस्या देखिएको छ ।
गत वर्ष प्रदेश सरकारको मन्त्रिपरिषद्ले संघीय मन्त्रालयसँग समन्वय गरेर बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेतको पहिरोको विकल्पमा पखेर–सिम जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज जडान गर्ने विषयमा निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएकोमा सम्बन्धीत मन्त्रालयको जवाफ माग गर्नुभएको छ ।
त्यसैगरी म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले असिना पिडित कृषकहरुलाई राहत उपलब्ध गराउन माग गर्नुभएको छ ।
प्रदेशसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले गत असोजमा बेनी नगरपालिका–२ ज्यामरुकोटको विभिन्न ठाउँमा असिनाले धानबाली नष्ट गरेर क्षति ब्यहोरेका किसानहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
ज्यामरुककोटको गौस्वाँराका ४० घरधुरी कृषकको सबैजसो धान असिनाले खेतमै झारिदिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )