देवि जि.सी./बेनी, माघ-२४, ग्रामीण भेगका महिलाहरुलाई पेशा तथा व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यसहित सौन्दर्यकला सम्बन्धी विषयको डिप्लोमा तालिम दिइएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्र सिङ्गाको १२औं वार्षिक साधारणसभाको अवसर पारेर सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन गरिएको थियो ।
म्याग्दीको बेनी नगरपालिका–४ नम्बर वडा कार्यालयको समन्वय तथा सहजीकरण र शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा गएको मंसिर अन्तिम सातादेखि सिङ्गामा तालिम सञ्चालन भएको थियो । डेढ महिना लामो अवधिसम्म सञ्चालित उक्त तालिम बुधवार सकिएको छ । महिलाहरुलाई सिप सिकाएर पेशा, व्यवसायमा आबद्ध गराउनको लागि सिपमूलक सौन्दर्यकला सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको थियो ।
तालिमको समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले तालिममा सिकेको ज्ञान तथा सिपलाई अब पैसामा कन्भर्ट गरेर आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तालिमपश्चात् सिकेको सिपलाई व्यवहारमा पूर्ण रुपले उतारेर आर्थिक प्रगति हासिल गर्न सहभागीलाई सुझाव दिँदै निरक्षरलाई साक्षर बनाउने तथा साक्षरलाई श्रम र सिपसँगै स्वरोजगार बनाउने नगरपालिकाले लक्ष्य लिएको समेत बताउनुभयो । तालिममा सिकेको सिपलाई अब निःशुल्क नभई पैसामा बेच्नुपर्ने र प्राप्त पैसाको बचत गर्नुपर्ने उहाँको भनाइ छ ।
बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले आर्थिक रुपमा सक्षम भएपछि कसैले पनि औंला उठाउन नसक्ने बताउनुभयो । उहाँले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र बलियो बनाउनको लागि नगरपालिकामार्फत विभिन्न सिपमूलक तालिम र कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै तालिममा प्राप्त ज्ञान, सिपलाई व्यवहारमा पूर्ण रुपले उतार्नुपर्ने बताउनुभएको छ । आर्थिक रुपमा सबल र सक्षम भएपछि आर्थिक परनिर्भरता घट्नुका साथै महिलामाथि हुन सक्ने विभिन्न किसिमका हिंसाहरुको न्यूनीकरणमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । बेनी नगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले महिला दिदीबहिनीहरु लाई लक्षित गरेर वडा कार्यालय र नगरपालिकाले आयआर्जन तथा सिपमूलक सम्बन्धी विभिन्न विषयमा तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा बेनी नगरपालिका ४ नम्बर वडाका वडा सदस्य केन खत्री, प्रशिक्षक गंगा थापा कार्की र सहभागी रविना बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम शिवालय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माको अध्यक्षता र सामाजिक परिचालक सीता थापा कुँबरको सञ्चालनमा सम्पन्न भएको थियो । सौन्दर्यकला सम्बन्धी तालिममा ४ नम्बर वडाका ३० जना महिलाहरुले सहभागिता जनाएका थिएभने गतवर्ष आधारभूत तालिम लिएका महिलाहरुलाई लक्षित गरी यसवर्ष सौन्दर्यकला सम्बन्धी डिप्लोमा विषयको तालिम सञ्चालन गरिएको थियो । तालिमको प्रमुख प्रशिक्षक समेत रहनुभएकी सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्ष एवं प्रजिया व्युटीपार्लर एण्ड ट्रेनिंग सेन्टरका सञ्चालक गंगा थापा कार्कीले तालिमका सहभागीहरुलाई सौन्दर्यकला सम्बन्धी विषयमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा तालिम दिनुभएको थियो । तालिमका सहभागीहरुलाई सैद्धान्तिकसँगै सौन्दर्यकलाका सामग्रीहरुको सहयोगमा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )