कृष्ण जिसी/जलजला, पुष-८, अहिले जस्तो सुचना प्रविधि र सामाजिक संजाल भैदिएको भए त्यो “बसन्ते” कति हिट हुँदो हो ? आजकल कोहि क्षणभर मै भाइरल हुन्छ । वि.सं. २०२४ सालतिर बेनीबजार सानो थियो । आवादी कम तर एक अर्कामा अत्यन्तै आत्मियता । बेनी बजार व्यापारिक केन्द्र मात्रै नभई शैक्षिक केन्द्र पनि थियो । जिल्लाभर र छिमेकी जिल्लाबाट समेत पढ्न बेनीमा आउने गर्दथे । म्याग्दीको झीं गाउबाट पढ्न झरेको एउटा “डल्ले केटो” धेरैको नजरमा थियो । गोरो र हँसिलो त्यहि केटो बाल कलाकार थियो, प्रकाश मा.वि.ले विसं २०२४ सालमा अभागी नामको नाटक मन्चन गरेको थियो । त्यहि नाटकमा “बसन्ते” बाल कलाकारको भूमिकामा थियो त्यो डल्ले केटोको । उक्त नाटक बेनीको चोक चोकमा प्रदर्शनगरिएको थियो । त्यो बेलामा बसंतेको अभिनयले धेरैलाई रुवाएको थियो जति अहिलेको “सारंगी “ फिल्मले रुवाउन नसकेको होला ।
अभागी नाटकमा बालकलाकार थिए भिम शेरचन । उनको अभिनय यति जीवन्त थियो कि बाटोमा हिंडेको देख्दा पनि उनलाई भिम भन्दा अभागीको बसन्ते भनेर चिनिन्थ्यो । पढाइमा पनि अब्बल र अभिनयमा पनि अब्बल रहेको त्यो नाटक हेरेका उनि भन्दा दुइ ब्याच पछिल्ला सुदर्शन कुमारले श्रेष्ठले नाटक बाग्लुंग सम्म लगेर देखाइएको भन्नुहुन्थ्यो ।
नाटकको शिर्षक “अभागी” त्यहि नाटक अभागीका बाल कलाकार भएपनि भिम शेरचन “बसन्ते” साह्रै भाग्यमानी मान्छे हुनुहुन्छ । ब्यबसायिक रुपमा सफल रहेका भिमले नाटकमा बसन्त र आफ्नो ब्यबसायिक जीवनमा पनि बसन्तको बहार ल्याउनुभएको छ । भिम शेरचन पर्यटन, कृषि र उद्दमशिलताको पर्याय हुनुहुन्छ । म्याग्दीको धार्मिक, शैक्षिक, कृषि, ब्यबसाय र पर्यटनमा भिम शेरचनको नाम अग्र पंक्तिमा आउँछ ।
आजभोली घुम्ने-डुल्ने /भ्रमण गर्ने चलन निकै बढेको छ । अफिसको एकोहोरो काम, व्यवसायको ब्यस्तता, पढ्ने पढाउने काम, यस्सो फुर्सद निकालेर मन बहलाउन आनन्द लिन रमाउन मानिसहरु डांडा पाखा र प्राकृतिक क्षेत्रको भ्रमण गर्न निस्किई हाल्छन । पश्चिम नेपालका धेरैजसो ठाउँहरु हिमाली दृश्यावलोकन गर्न उपयुक्त छन् । यस्तै धेरै ठाउँ मध्येको एक प्रख्यात थलो हो गण्डकी प्रदेश म्याग्दी जिल्लाको टोड्के क्षेत्र ।
टोड्के प्राकृतिक दृश्यावलोकनको लागि मात्रै नभई एक धार्मिक र ऐतिहासिक स्थल समेत हो । मङ्गला गाउँपालिको पूर्णगाउँ, कुहुँ, रघुगंगा गाउँपालिको झिँ र बेनी नगरपालिकाको वाखेतबाट सहजै पुग्न सकिने टोड्केमा पर्यटकहरु केहि वर्ष पहिला पहिले टोड्केमा खाजा खाने उपयुक्त ठाउँ नहुँदा, पर्यटकहरु आफैँ खाना खाजा लिएर जानुपर्ने तथा वरिपरिका ग्रामिण बस्तीमा खाना र बास माग्नुपर्ने अबस्था थियो । पछिल्लो समय खाना र बसोबास सुविधाका लागि निजी क्षेत्रबाट टोड्के हिल रिसोर्ट सञ्चालनमा आएपछि सहज भएको छ । रिसोर्ट सञ्चालनमा आएपछि सवारी साधनबाट समूहमा घुम्न जानेहरु बढेका छन् । त्यहि रिसोर्टका संचालक हुन् भिम शेरचन । टोड्के जाने मुख्य मार्गमा समेटिएका झिँ र पूर्णगाउँमा होमस्टे समेत सञ्चालनमा रहेका छन् ।
टोड्केमा पर्यटकको आगमन बढाउन रिसोर्टले महत्वपुर्ण भूमिका खेलेको छ । त्यतिमात्र नभई यस क्षेत्रको महत्व बढाउन थुप्रै परियोजना समेत संचालनमा छन् । टोड्केलाई साच्चिकै टोड्के बनाउन सो क्षेत्रका बासिन्दाको महत्वपुर्ण हात छ । तिनै मध्येका एकजना दुरदर्शी व्यक्ति हुन् भिम शेरचन । बुढ्यौलीले छोईसकेका भिम शेरचन कपाल फुली सक्दा दाँत झरिसक्दा पनि सो क्षेत्रको बिकासमा जोशका साथ लागिरहनुभएको छ । पाँच पाण्डवकै भीमको संज्ञा दिने गरिन्छ साहसी आत्मविश्वासी र सहयोगी गौचनलाई ।
भिम गौचनको जन्म वि.सं. २०१२ सालमा म्याग्दीको रघुगंगा गाउँपालिका -५, झीं, (साबिक झीं गाबिस-१, म्याग्दी) मा भएको हो । बेनी स्थित प्रकाश माध्यमिक विद्यालयबाट विसं २०२८ सालमा एस.एल.सी. उत्तीर्ण गरेपश्चात उहाँले व्यावसायिक तालिम (Vocational Training) लिनुभयो । त्यसपछि पुन: गाउँमै फर्केर अमर मा.वि. पाखापानीमा २ वर्ष शिक्षण कार्यगर्नु भएको थियो । दुइ वर्षको अध्यापन पश्चात आफन्तहरु भैरहवामा बसोबास गर्दै आउनुभएकोले उहाँहरुको ब्यबसाय (चालम गोदाम) मा काम गर्नुभयो । कामगर्दै जाँदा ब्यबसायिक सिप हाँसिल गर्नुभयो । चामल गोदाममा कमगर्दा तत्कालिन लुम्बिनी अंचलका सबै जिल्लाहरु र पोखरा चितवन सम्म सेना तथा प्रहरीका ब्यारेकहरुमा खाद्दान्न आपुर्ती गर्नुभएको थियो ।
लामो समय कामगर्दा ब्यबसायिक सिप हासिल र परिपक्व भएपछि अव अरुको काम गरेर हुँदैन आफ्नै ब्यबसाय गर्नुपर्छ भने ठानेर आफन्तहरु संग नै ३५ प्रतिशत नोक्सानमा रहेको एक ब्यबसायिक फर्ममा लगानी गरेर संचालान गरेको उहाँले बताउनुभयो । केहि समय काम गरि नोक्सानमा रहेको व्यवसायलाई नाफामा ल्याई सकेपछी चलिरहेको ब्यबसाय छोडेर काठमाडौँ पुग्नुभयो । काठमाडौँ पनि उहाँका आफन्तहरु नै थिए । भैरहवामा बसेर ब्यापार गर्दाको अनुभवले उहाँलाई काठमाडौँ बसेर ब्यापार गर्न कुनै अफ्ठ्यारो भएन । उहाँले हंगकंगबाट ब्यापारगर्ने सोच बनाउनुभयो । उहाँलाई अव नागरिकता र पासपोर्ट बनाउनु पर्नेभयो । तत्कालिन समयमा काठमाडौँबाट तुरुन्तै म्याग्दी फर्केर नागरिकता र काठमाडौँबाट पासपोर्ट बनाइ सकेपछी हंगकंग ब्यापारगर्न शुरु गर्नुभयो । उहाँले हंगकंगबाट तयारी सामान (इलेक्ट्रोनिक सामान) को आयात शुरु गर्नुभयो ।
ब्यापारको शिलशिलामा उहाँले नेपालबाट गलैँचा र पश्मिनाका कपडा बाहिर निर्यातगर्ने र बाहिरबाट इलेक्ट्रोनिक्स र अन्य तयारी सामान आयात गरि राम्रो ब्यापार गर्नुभयो । गौचनको ब्यापार हंगकंगमा मात्रै सिमित भएन सिंगापुर, थाइल्याण्ड सम्म उहाँको आयात निर्यातको ब्यापार फैलियो । गौचन भन्नुहुन्छ “हामीले एक पटकमा त्यतिबेला २-३ सय थान टिभी एकै पटकमा आयात गर्थ्यौं “ । ब्यापार बढ्दै गएपछि अव उत्पादनतर्फ पनि जोडिनुपर्छ भनेर उत्पादन गलैँचा र पश्मिना उत्पादन शुरुगर्नु भयो । शुरुमा हंगकंग व्यापारको क्रममा नेपाली गलैचा र पश्मिनाको माग अन्तराष्ट्रिय बजारमा बढी रहेको थियो त्यसैले उहाँले गलैचा र पश्मिनाको उत्पादन थालेको बताउनु हुन्छ । काठमाडौँ रिंग रोड भित्र मात्रै उहाँका ५ वटा फ्याक्ट्री रहेका थिए । “त्यो बेलामा नेपालबाट निर्यात गर्ने सामानको ब्यापारमा हामी टप १० मा पर्थ्यों पस्मिना र गलैचाको ब्यापार यस्तो थियो कि पैसा गन्ने समेत फुर्सद हुँदैनथ्यो”, गौचनले अनुभव सुनाउनुहुन्छ ।
पछिल्लो समयमा आफ्नो ब्यबसाय सम्हाल्न परिवारका अन्य व्यक्ति नहुँदा बिस्तारै छोड्नु परेको उहाँले बताउनुभयो । गौचनका चारवटा छोरीहरु मध्ये अहिले कान्छी छोरी मात्रै नेपालमा हुनुहुन्छ । उहाँले काठमाडौँ मै कफी तथा केकको ब्यबसाय संचालन गरिरहनुभएको छ । जेठी छोरी UNDP अन्तर्गत इथिपोयामा कार्यरत हुनुहुन्छ । एकजना अष्ट्रेलिया र एकजना अमेरिकामा बसोबास गर्दै आउनुभएको छ ।
शेरचनलाई विदेश गएर बस्न मन परेन । उहाँले अफ्रीका बाहेकका विश्वका सबैजसो देश भ्रमण गरिसक्नुभएको छ । त्यहाँको जीवनशैली भन्दा उहाँलाई स्वदेशमै, जन्मेको थलोमै बाँकी जीवन बिताउन मन छ । आफु जन्मेको थलोमा केहि गर्नु पर्दछ भन्ने ठानेर र जन्मथलो प्रतिको जिम्मेवारी सम्झेर जन्मथलो झीं म्याग्दीमा नै रमाउन थाल्नु भएको छ । त्यसो त उहाँको बसोबास काठमाडौँमा छ । तैपनि उहाँ विभिन्न काम र व्यवसायले गाउँसग जोडीइ रहनुभएको छ ।
म्याग्दीको पर्यटकीय तथा धार्मिक स्थल टोड्केमा सुबिधा सम्पन्न रिसोर्ट टोड्के रिसोर्ट प्रा.लि.को अध्यक्ष हुनुहुन्छ । म्याग्दीलाई पर्यटनको माध्यमबाट सम्पन्न बनाउन सकिन्छ भन्ने उहाँको भिजनले सार्थकता पाएको छ । आजकल तालिम संचालन तथा हिमाली दृश्यावलोकनका लागी देशका विभिन्न ठाउँबाट पर्यटकहरु टोड्के पुग्ने गरेका छन् ।
टोड्केसंगै उहाँले झीं भन्दा माथि र वाखेतको क्षेत्रमा ६५ रोपनी जग्गा लिजमा लिएर कफी खेतीको थालनी गर्न लाग्नुभएको छ । शुरुमा उहाँले सो ठाउँमा परिक्षणको रुपमा १५० विरुवा रोपिने बताउनुभयो । त्यसैगरी टोड्केक्षेत्र मै गुराँस पार्क निर्माण गरिएको छ । जहाँ क्याम्पिंग गरेर बस्न मिल्ने सत्तल समेतको पूर्वाधार तयार भएका छन् । पानीको फोहोरा सहितको पार्कमा गुराँसका बिरुवा रोपिएका छन् । यसले पर्यटकलाई थप आकर्षण गर्ने कुरामा बिश्वस्त हुन सकिन्छ । बेनी र आसपासबाट क्याम्पिंग र पिकनिकका लागी समेत सो स्थल उपयुक्त स्थल हो ।
टोड्के क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको खेलकुद तालिम मैदान निर्माणको क्रममा रहको छ । यो मैदान निर्माणसंगै देशै भरिबाट “हाइ अल्टिच्युड़ खेलकुद तालिम मैदान” को रुपमा प्रयोगमा आउने छ । चार तिरबाट सडक संजालले जोडिएको र खान बस्नका लागी कुनै समस्या नहुने सो स्थलमा सडकको अबस्था राम्रो नभएकोले झि देखि घुम्ती र सिममा ग्रेडिंग मिलाउने ढलान गर्नेगरि ठेक्का सम्झौता भएको समेत गौचनले बताउनुभयो । भिम गौचन ब्यबसायिक रुपमा सफल व्यक्ति हो । उहाँले आय आर्जनका माध्यमबाट स्वावलम्बी बन्न सकिन्छ भन्ने कुरालाई चरितार्थ गर्नुभएको छ ।
गौचन एक शैक्षिक र धार्मिक अभियन्ता समेत हुनुहुन्छ । म्याग्दी बहुमुखी क्याम्पसको स्थापना कालमा ५० हजार र गलेश्वोर शिवालय मन्दिर पुनर्निर्माणमा व्यक्तिगत रुपमा तत्कालिन समयमा ५५ हजार सहयोग गरि सो क्षेत्रको बिकास गर्नमा सहयोग पुर्याउनुभएको छ । टोड्केबाट ९ र ७ दिनको नयाँ पदमार्ग पहिचान गरि सो क्षेत्रमा भौतिक संरचना (आश्रय स्थल) बनाउन लागिएको बताउनुभयो । सो पदमार्गले टोड्के मालिका हुँदै धौलागिरि बेसक्याम्प र मुस्ताङ्गको लेतेलाइ जोड्दछ ।
सामुदायिक बिकासका लागी शिक्षा पर्यटन आर्थिक उन्नती र जिवनस्तर उकास्न भिम शेरचनलाई बुढ्यौलीले छेकेको छैन । ठट्यौली पारामा भन्नुहुन्छ “यसरी खटेर कामगर्दा राज्यले अलिअलि साथ दिए कति जाती हुँदो हो ? नगरेको त हैन तर जति गर्नुपर्ने हो त्यति साथ पाउन सकिएको छैन “ उहाँको गुनासो छ । उमेरले नेटो काटी सक्दा पनि आफ्नो जन्मथलोको बिकासमा जुटिरहेका शेरचन पाँच पान्डवका बलिया सुरबीर भाइ “भिम” जस्तै हुनुहुन्छ । कृषि-पर्यटन, पर्या-पर्यटन, उत्पादनशिलता र रोजगरको माध्यमबाट म्याग्दीलाई सम्मुनत बनाउन सकिन्छ भन्ने कुरामा भिम गौचनले देखेको सपनालाई सार्थकतामा बदल्ने प्रयास जारी छ आवश्यक छ त राज्यको साथको ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )