धौलागिरी, असार-१०, म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न २२ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड२७ लाख ६८ हजार बराबरको बजेट छलफल पछि सर्वसम्मत रुपमा पारित भएको हो ।
बजेटमा संघीय सरकारबाट प्राप्त हुने रु. ३८ करोड ५५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने रु २ करोड ८२ लाख ६८ हजार, आन्तरिक आयतर्फबाट रु ४० लाख र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहन आउने रु १ करोड ५० लाख नगद मौज्दातलाई स्रोत अनुमान गरिएको
छ ।
आगामी आर्थिक बर्षका लागि गाउँपालिकाले सबैभन्दा ठूलो योजनाको रुपमा लुलाङ-गुर्जा सडकलाई रु. एक करोड बजेट विनियोजन
गरेको छ । चालु आर्थिक बर्षमा समेत संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा अघि बढाइएको सो आयोजनालाई क्रमागत रुपमा सम्पन्न गराउन गाउँपालिकाले गौरवको आयोजनाको रुपमा उक्त योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको जनाएको छ ।
गाउँसभाबाट पूर्वाधार विकासतर्फ रु ८ करोड ७२ लाख ७० हजार, आर्थिक विकास तर्फ रु ४७ लाख, ६० हजार, सामाजिक विकासतर्फ रु ३ करोड ३९ लाख ३४ हजार, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु ६९ लाख ३६ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १० करोड ८९ लाख १८ हजार विनियोजन भएको छ ।
यस अघि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले आगामी आर्थिक बर्षको लागि ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारः समृद्ध धवलागिरी निर्माणको आधार’ भन्ने नाराका साथ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफलपछि पारित भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा गाँजा खेतीलाई प्रोत्साहन गर्ने, कृषि र जडिबुटी खेती, पशुपालन, पर्यटन लगायतका बिषयलाई प्राथमिकता दिईएको छ ।
गाउँपालिकाले एक वडा एक पर्यटन परियोजना कार्यान्वयन गर्ने, गुर्जामा कस्तुरी पालनको सम्भाव्यता अध्ययन गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
सभामा उपाध्यक्ष रेशम पुनले अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको आर्थिक विद्येयक, झकबहादुर छन्त्यालले पेश गर्नुभएको विनियोजन विद्येयक र देउ प्रसाद छन्त्यालले प्रस्तुत गर्नुभएको बेरुजु सम्बन्धी प्रस्ताब छलफल गरि पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत मोति प्रसाद अर्यालले जानकारी दिनुभयो ।
गाउँपालिकाले गाउँसभाको अवसरमा आफ्नो पालिकाको लोगो समेत सार्वजनिक गरेको छ । गाउँपालिकाले खुला प्रस्तावना आह्वान गरेर प्रतिस्पर्धा मार्फत गाउँपालिकाको पहिचान झल्कने लोको सार्वजनिक गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनले पालिकाको लोगो सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा गाउँपालिकाको लोगो डिजाइन गर्ने धवलागिरी गाउँपालिका ३ निवासी देविन्द्र पुनलाई नगद रु ३० हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )