नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा.भूपेन्द्र बहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । डा. खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले डा.खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोक विज्ञप्तिमार्फत उहाँमा श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ । खड्का २०४८ सालको आमनिर्वाचनमा म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तथा विसं २०५५ मा म्याग्दी जिल्ला सुकुम्बासी आयोगका अध्यक्ष हुनाका साथै विभिन्न सामाजिक संस्थामा क्रियाशील रहँदै आउनु भएको थियो ।
विसं १९९८ साउन २० गते तत्कालीन अथुङ्गे गाविस–१ मा जन्मनुभएका खड्काले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । काँग्रेसले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
डा. खड्का नेपाली कांग्रेस, जिल्ला कार्य समितिको २०५७ मंसिर १३ मा सम्पन्न तेस्रो अधिवेशन र २०६१ माघ २७ मा सम्पन्न चौथो अधिवेशनमार्फत सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको थियो । दुई कार्यकाल सभापति बनेका उहाँलाई हाल मात्र जिल्ला कार्य समितिले वरिष्ठ नेताका रूपमा सम्मान गरेको थियो।
फागुन २३ गते बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि खड्कालाई म्याग्दी अस्पतालबाट थप उपचारका लागि काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा लगिएको थियो। मंगलबार बिहान उहाँको अकस्मात निधन भएको हो ।
८० वर्षको उमेरमा दिवंगत उहाँको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको छ ।उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाउदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशाङ्क कोइराला, जिल्ला सभापति खुमबहादुर गर्बुजा लगायतले सम्मान प्रकट गर्नु भएको थियो ।
म्याग्दी कांग्रेसले आज नै शोकसभा गर्दै स्वर्गीय खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। उहाँको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने र तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )