पर्वत, चैत-२६, वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको छ । लामो समयदेखि काकाकुलको नियति भोगिरहेको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङमा पहिलोपटक पाइपमार्फत खानेपानी पुर्याइएको हो । सिङ्गो बस्ती नै एउटा कुवामा निर्भर हुनुपर्दा भोग्नुपरेको सास्तीका कारण बसाइँसराइ बढिरहेको बेला लामो प्रयासपछि पानीको सुविधा पुगेको हो । जलजला–८ का वडाध्यक्ष हरि विकास जिसीले वर्षौंदेखिको समस्या समाधानका लागि लामो समयदेखि नै प्रयास गरे पनि बल्ल सफल भएको बताउनुभयो ।
लुप्राङ गाउँबाट करिब चार किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौँको लस्ती खोलाबाट पाइप बिछ्याएर पानी ल्याइएको हो । पाइपमार्फत ल्याइएको पानी अब एक लाख लिटर क्षमताको ‘रिजर्भ ट्याङ्की’ मा खसालेर टोलटोलमा वितरण गर्ने योजना रहेको उनले बताए रु एक करोडभन्दा बढीको लगानीमा उक्त योजना सम्पन्न हुन लागेको हो ।
“यहाँका बासिन्दा कुवाको भर पर्दै आएका थिए । गाउँको सबैभन्दा ठूलो समस्या नै पानी थियो,” वडाध्यक्ष जिसीले भन्नुभयो । केही वर्षअघिसम्म लुप्राङमा करिब एक सय ३० घर भए पनि तीमध्येका करिब ४० परिवार पानीकै अभावका कारण बसाइँ सरेका छन् । स्थानीय हरिनारायण रेग्मीले वर्षौंदेखि पानीको प्रतीक्षामा बसेका लुप्राङवासीको मागको सुनुवाइ भएको बताउनुभयो ।
अब एक गाग्री पानीका लागि राति र दिउँसो कुवाको छेउमा लाइन लागेर बस्नुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ । लस्ती खोलाको पानी लुप्राङमा ल्याउन प्रयास गरिए पनि एउटा वडामा रहेको स्रोत अर्को वडामा लगेर प्रयोग गर्नेमा राजनीतिक दलका प्रतिनिधिबीच सहमति नहुँदा गाउँमा पानी पुर्याउन ढिलाइ भएको थियो । अहिले सो विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएपछि योजनाले पूर्णता पाएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )