म्याग्दी, चैत-५, राष्ट्रिय भुमि आयोग म्याग्दीले आफ्नो कार्यप्रगति सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरि आयोगले करिव २३ महिनामा गरेका कार्यको जानकारी दिएको हो। कार्यालयले जनाए अनुसार अहिलेसम्म जिल्लाभरबाट जम्मा ८ सय ६५ वटा निवेदन संकलन गरिएको छ । आयोगको जिल्ला समितिले उपलब्ध गराएको विवरण अनुसार जिल्लाका १ सय ४८ जना भूमिहीन दलित, १ सय ४० जना भूमिहीन सुकुम्बासी र ५ सय ७७ जना अब्यवस्थित बसोबासी समेत ८ सय ६५ जनाले जग्गाको स्वामित्व दर्ता, श्रेस्ता फिल्डबुक प्रमाणितगरी तिरो समेत चलाउन दिएको निवेदन संकलन गर्नु बाहेक अन्य उपलब्धी नभएको उल्लेख गरेको छ ।
पत्रकार सम्मलेनमा दिइएको जानाकारी अनुसार जिल्लामा सवैभन्दाबढी अब्यवस्थित बसोबासी रहेको कार्यालयले जनाएको छ । आयोगले सम्बन्धीत स्थानीय तहका वडा कार्यालय मार्फत भूमिहीन दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासीको निवेदन मागेको थियो । भने स्थानीय तहमा भुमि सम्बन्धि समस्या सहजीकरण गर्न सहजीकरण समिति समेत गठन भएको छ
यस अघि विभिन्न चरणमामा गठन भएका आयोग, समिति र कार्यदलले प्रकृया नपुऱ्याई लालपुर्जा वितरण गरेका तर स्रेस्ता कायम नभएका, नक्साकाट नभएका र तिरो नचलाईएका एक सय ८८ जना भूमिहीन दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासीले पनि छुट्टै निवेदन दिएका छन । यस्तो समस्या सवैभन्दाबढी अन्नपूर्ण गाउँपालिका, ६ मा पर्ने पर्यटकीय वस्ती घार, घोरेपानी र बेनी नगरपालिका, २ ज्यामरुककोट क्षेत्रमा रहेको छ । अन्नपूर्ण गापामा १ सय ७७ र बेनी नपामा ६४ जना लालपुर्जा हातमा भएका तर उक्त लालपुर्जाको फिल्डबुक, नापीनक्सा र मालपोतमा स्रेस्ता कायम नभएको पाईएको हो ।
भुमि आयोगको कार्यविधी अनुसार वडा कार्यालयमा प्राप्त निवेदनमाथी वडा समितिले छुट्टै सहजीकरण समिति गठनगरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीको पहिचान र प्रमाणिकरण गरी पालिकामा पेश गर्ने र पालिकाले पुनः पहिचान र प्रमाणिकरणगरी पालिका क्षेत्र भित्र बसोबास राख्न योग्य जग्गाको वर्गिकरणगरी जिल्ला भूमि आयोगमा जग्गा दर्ताकालागी सिफारिस गर्नु पर्ने ब्यवस्था गरेको छ। सरकारले ०७८ चैत २२ गते नेकपा एसका देवेन्द्र कामीको अध्यक्षतामा माओवादी केन्द्रका जिल्ला सदस्य खुमनाथ सुवेदीलाई विज्ञ सदस्य, काँग्रेसका जिल्ला सदस्यद्वय टंक हमाल र खिमकुमारी पुर्जा सदस्य रहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गठन गरेको थियो । जिल्ला प्रशासन, मालपोत र नापी कार्यालय पदेन सदस्य रहने ब्यवस्था छ ।
कार्यप्रगति सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, जिल्ला समन्वय समिति म्याग्दीका समन्वय अधिकारी राजेन्द्र पोखेरल, मालपोत कार्यालय म्याग्दीका कार्यबाहक प्रमुख कलादेवी शर्मा रिजाल, डिभिजन बन कार्यालय म्याग्दीका सहायक बन अधिकृत चन्द्रमणि सापकोटा, राष्ट्रिय भुमि आयोग जिल्ला समिति म्याग्दीका अध्यक्ष देबेन्द्र कामी, भुमि आयोगका बिज्ञ सदस्य खुमानाथ सुबेदी सदस्य टंक बहादुर हमाल, सदस्य खिम कुमारी पुर्जाको उपस्त्थिति रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )