म्याग्दी, चैत-४, म्याग्दीको बेनी नगरपालिका -९ गलेश्वर स्थित गलेश्वरधाम मन्दिरको प्रवेशद्धारदेखि कालीगण्डकी स्नान स्थल जाने पैदल मार्ग उद्घाटन गरिएको छ । मन्दिरको प्रवेशद्धारदेखि कालीगण्डकी स्नान स्थल जाने फुटपाथ सहितको पैदलमार्गको गण्डकी प्रदेशसभा सदस्य, निवर्तमान भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले उद्घाटन गर्नुभएको हो ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट रु. ४० लाख बजेट बिनियोजन भएको सडक निर्माणमा उपभोक्ताको तर्फबाट रु. ४ लाख २७ हजार २३९ बराबरको लागत साझेदारी भएको छ । गलेश्वर मन्दिर देखि कालीगण्डकी नदी जाने बाटो निर्माण समितिका अध्यक्ष बमबहादुर पुनले ५ मिटर चौडाई भएको १२५ मिटर लामो सडक ढलान निर्माण कार्य लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले धार्मिक स्थललाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । लक्ष्य अघिनै सडक निर्माण गरेर गलेश्वरका उपभोक्ताहरुले उदाहरणीय काम गरेकोमा प्रशंसा गर्नुभयो । “मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीको म्याग्दीमा बसाई लम्बाउने उपयुक्त योजना र कार्यक्रम बनाउन ढिलाई गर्नुहुदैन,” उहाँले भन्नुभयो “गलेश्वर लगायत म्याग्दीका धार्मिक पर्यटकीय स्थल पर्यटक भित्र्याउन र बसाई लम्बाउन उपयुुक्त स्थान हुन सक्छन् ।”
गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले गलेश्वरलाई विश्व सम्पदा सूचिमा समावेश गर्नुपर्ने बताउनुभयो । बेनीनगरपालिकाका प्रमुख सुुरत केसी र वडा अध्यक्ष चक्र केसीले गलेश्वर बजारलाई सौन्दर्यकरण र बजार भित्र पैदलयात्रा गर्ने बनाएर स्थानीयलाई आयआर्जनसँग जोड्ने तयारी गरेको बताउनुभयो ।
कालीगण्डकी स्नान गर्ने भक्तजन, स्थानीयबासी र कालीगण्डकीमा शवदाह गर्न जाने मलामीहरुलाई सडक निर्माण भएपछि सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, गलेश्वर मन्दिरका निर्माता राधाकृष्ण पराजुुलीका छोरा रमेश शर्मा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले प्रगति, कोषाध्यक्ष गौमाया पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन सदस्य सचिव बलबहादुर खत्रीले गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )