पर्वत, पुष-२९, पर्वतका शहिद हरिदत्त तिवारीको सम्झनामा स्मृति दिवस मनाइने भएको छ । स्व. तिवारीको २१ औँ स्मृति दिवसको अवसर पारेर आउँदो माघ एक गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराइएको हो ।
हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा माघ एक गते शहिद तिवारीको गृह फलेवास नगरपालिका–३ शंकरपोखरीको नुवारमा शनिवार आयोजित पत्रकार सम्मेलन गरेर माघ एक गतेको कार्यक्रमको बारेमा जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष तथा शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले विगतका वर्षहरुमा काँग्रेस सभापति शेरबहादुर देउवा, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरु आएको स्मृति दिवसको अवसरमा यस वर्ष गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतका नेताहरु आउन लागेको जानकारी दिनुभयो ।
शहिद तिवारीकै गृहमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेश सरकारका प्रवक्ता उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा, लगायतको नेता तथा पदस्थ व्यक्तिहरुको उपस्थितमा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सहिद तिवारी विकासप्रोमी नेता रहेकै अवस्थामा तत्कालिन द्धन्द्धको बेलामा २०६० साल माघ एक गते साँझ तत्कालिन नेकपा माओवादीले घर नजिकै लगेर हत्या गरेको बताउनुभयो । सो अवसरमा बोल्दै सहिदपुत्र तथा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले सशहिद तथा पिता तिवारीको इतिहासलाई जोगाइराख्नको लागि प्रतिष्ठानमार्फत बिभिन्न कामहरु भइरहेको बताउनुभयो ।
आफ्नो बुबा पूर्व गाविस अध्यक्ष तथा धेरै पटक प्रधान पञ्च समेत भएर गाउँको विकासका लागि खटीरहेको अवस्थामा हत्या गरिएको स्मरण गर्दै अब सहीदको सपना पूरा गर्नुपर्ने बताउनुभयो । बुबाले सहादत प्राप्त गरेपछि आफू राजनीतिमा होमिनु र अहिले फलेवास नगरपालिकाको प्रमुख बनेर जनताको सेवा गर्न पाउनुले पनि बुबाको सपना पूरा गर्न केही यात्रा तय गरेको उहाँको भनाइ छ । बुबाको स्मृतिमा हरेक वर्ष बिभिन्न कार्यक्रमहरु गर्दै आएको तथा त्यस अवसरमा स्थानीय विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना पनि हुँदै आएका तिवारीले बताउनुभयो । शिक्षा र विकासको क्षेत्रमा उल्लेख्य काम गर्न खोजेका आफ्ना हरिदत्तको सपना पूरा गर्नको लागि आफूले शंकरपोखरीका सबै विद्यालय सहित नगरपालिकाका अन्य केही विद्यालयहरुमा ५१ हजार रुपैयाँदेखि एक लाख रुपैयाँ राशी रहेका अक्षयकोष स्थापन गरेको सहिदपुत्र तिवारीको भनाइ छ ।
यस बर्ष पनि विद्यार्थीहरुका लागि बिभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमहरु सहित सांस्कृतिक कार्यक्रमहरुको पनि तयारी भइरहेको छ । माघ एक गते बिहान १० बजेबाट नै कार्यक्रम सुरु हुने भएकोले आयोजक प्रतिष्ठानले जिल्लाबासीहरुलाई सोही समयमा नै कार्यक्रमस्थलमा उपस्थित हुनका लागि अनुरोध गरेको छ । प्रतिष्ठानका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगरपालिकाका सभापति हिरामणी सापकोटा लगायतले पनि सहिद तिवारीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारीले गर्नुभएको थियो । समाचार श्रोत : पर्वत न्युज
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )