पर्वत, मंगसिर-२०, पाक्ने बेलाको सुन्तलामा औंस्या किरा फैलिएर नष्ट गर्न थालेपछि पर्वतका कृषक चिन्तित बनेका छन् । सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएको पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुर र दक्षिण पर्वतको पैंयु गाउँपालिका वडा नं. ३ त्रिवेणीमा पछिल्लो दुई साता यता औंस्या किराको प्रकोप फैलिएको हो। सुन्तला बेचेर राम्रो आम्दानी गर्ने बेलामा औंस्या किरा र पतेरोले सुन्तला झरेर बगैंचा भरिएको किसानले बताएका छन् । देउपुरका दाताराम चापागाईले असिना र खडेरीबाट जोगिएको सुन्तला विक्री गरेर केही आम्दानी गर्ने आशामा रहेका बेला औंसे किराका कारण सुन्तला झर्न र बोट समेत मर्न थालेपछि चिन्तित बनाएको बताउनुभयो ।
गतवर्ष राम्रो आम्दानी गरेको भएपनि यसपालि सुन्तला कम फलेको भन्दै चापागाईले झर्न थालेपछि झनै चिन्ता बढेको बताउनुभयो । देउपुरमा मात्रै तीन सय बढि कृषक व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँवाट गत वर्ष मात्र रु ३ करोडको सुन्तला विक्रि भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समुहका अध्यक्ष दाताराम चापागाईले जानकारी दिनुभयो । पछिल्ला केहि दिन यता औसे किरा लागेर धमाधम सुन्तला झर्न थालेको उहाँले बताउनुभयो । यस वर्षमा स्थानीय मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रमा अनुरोध गरेपनि निदानका लागि कुनै उपाय नपाएको स्थानीय प्रकाश चापागाईले बताउनुभयो । उहाँका अनुसार किरा लागेर झरेका सुन्तला जम्मा गरेर नष्ट गर्न थालिएको बताउनुभयो ।
अर्का कृषक लालु चापागाईले किरा लागेर धमाधम सुन्तला नष्ट भएपछि यस वर्ष सुन्तलामा ठुलो नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाण्डौ र बुटबल सम्म जाने भएपनि अहिलेसम्म व्यापारी आईपुगेका छैनन । टिप्ने बेलामा झर्ने र भएका दानामा पनि किरा लागेर खानै नमिल्ने समस्या देखिएको उहाँको भनाई छ ।
यता कृषि ज्ञान केन्द्र पर्वतले देउपुर र त्रिवेणी लगायतका ठाउँमा आँसे किरावाट झण्डै ३० प्रतिशत क्षति पुगेको जनाएको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले २५ देखि ३० प्रतिशत क्षति पुगेको र थप क्षति हुन नदिनका लागि जतिसक्दो छिटो सुन्तला टिपेर बजार पठाउन आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले औँसा किराले झरेका सुन्तलालाई प्लाष्टिकमा जम्मा गर्ने र नष्ट गर्ने यो प्रक्रियाले किराको चक्र ब्रेक गर्न सकिने भएकाले कृषकलाई प्लाष्टिकमा जम्मा गरेर नष्ट गर्न लगाईएको समेत बताउनुभयो । औसा किराको प्रकोपबारे पोखरावाट बाल संरक्षण प्रयोगशालावाट विज्ञहरु लगेर समेत स्थलगत अनुगमन गरिएको किराको प्रकोप निदानका लागि कृषकहरुलाई आवश्यक सल्लाह र विषादी समेत सिफारीस गरिएको बताउनुभयो । चाइनिज फ्रुट प्लाई अर्थात् औंस्या किराको चक्र ब्रेक गर्न झरेका सुन्तला प्लाष्टिकमा जम्मा गर्ने र नष्ट गर्नुनै अहिलेको मुख्य उपाय रहेको उहाँको भनाई छ।
झरेका सुन्तला भुँइमा नष्ट गरियो भने फेरि जमिनमा किराले फुल पार्ने र अर्को सिजनका सुन्तलालाई असर नगर्ने अधिकारीले बताउनुभयो । लोकतन्त्र अनलाइनबाट साभार
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )