सन् २०१४ देखि हरेक वर्ष डिसेम्बर ५ तारिखको दिनलाई “विश्व माटो दिवस” को दिनको रुपमा विश्वले मनाउंदै आइरहेको छ । यो वर्षपनि डिसेम्बर ५ तारिखको दिनलाई विभिन्न कार्यक्रमका गरि मनाइदैछ ।यो दिवसको मुख्य उद्देश्य भनेको विश्व समुदायलाई माटोको महत्वको बारेमा सचेतना फैलाउने हो । यस पृथ्वीमा भएका सम्पूर्ण बोटबिरुवा र जीवजन्तुहरु र माटो बिचको अनोन्याश्रित सम्बन्धको बारेमा सबै मानव जगतलाई जानकारी गराई माटोको संरक्षणमा सहभागीताको लागि आह्वान गर्ने हो । नेपालले बर्षेनी डिसेम्बर ५ तारिखका दिन विभिन्न संघसंस्थाहरुको सहभागिता र सहकार्यमा धेरै किसिमका कार्यक्रमहरुको आयोजना गरि मनाउंदै आइरहेको छ । यस बर्षपनि कृषि बिभाग, राष्ट्रिय माटो बिज्ञान अनुसन्धान केन्द्र (नार्क), नेपाल माटो समाज तथा अन्य निकायहरुको सझेधारीमा विभिन्न क्रियाकलाप गर्दै विश्व माटो दिवस मनाउदै आएको छ| बिगत नौ बर्सदेखी विभिन्न नारा हरु को साथ मनाउदै आइएको माटो दिवस यस बर्ष “माटो र पानी, जीवनको थालनी” (Soil and water: a source of life) भन्ने नारा लिईएको छ । यसपालिको नाराले यस पृथ्वीका जीवजन्तुहरुको अस्तित्वको शुरुवात माटो र पानीबाट हुने यथार्थलाई उजागर गर्नुका साथै ति जीवहरु र तिनको अस्तित्व रक्षाको लागि माटो र पानी दुवैको संरक्षणको आवश्यकतालाइ झल्काउने प्रयास गरेको देखिन्छ। सत्यतापनि यहिनै हो । माटो र पानी विना यस संसारमा जीवनको अस्तित्वको कल्पना पनि गर्न सकिन्न । तसर्थ सबै जीव जन्तु, तिनको जीवनचक्र र विद्यमान परिस्थितिकीय प्रणालीहरुको रक्षा र दिगोपनाका लागि माटो र पानीको संरक्षण अपरिहार्य छ ।
अहिले सम्म भएका अध्ययन अनुसन्धानहरुले के भन्छ भने पृथ्वीमा भएका जैविक विविधता मध्ये २५% जति जैविक विविधताहरु माटो भित्र पाइन्छ । यसका साथै आधि भन्दा बढी जीवजन्तुहरुको जीवनचक्र पूर्ण रुपमा वा आंशिक रुपमा माटोमा निर्भर छन् । यदि कुनै मानेमा माटोको क्षयीकरण हुन पुग्यो भने यी माटोमा निर्भर जीवजन्तुरुको अस्तित्वपनि खतरामा पर्न जान्छ । माटो एउटा यस्तो प्राकृतिक श्रोत हो जुन एक पटक क्षय भएमा संधैभरीका लागि क्षय भएर जाने गर्छ, पुन प्राप्त गर्न प्राय असम्भव हुन्छ । पानीको हकमा पनि यो वस्तु यस पृथ्वीमा निश्चित आयतनमा मात्र छ र अहिले सम्म बिकास भएका प्रविधिहरुको माध्यमबाट थप पानीको सिर्जना गर्न सकिंदैन । पृथ्वीमा भएका सम्पूर्ण पानीको मात्र ३% मात्र पिउन मिल्ने छ, जसमध्ये पनि ०.५% मात्र मानिसको सहज पहुँचमा छ । यी तथ्यहरुले यी दुई अति महत्वपुर्ण प्राकृतिक श्रोतहरु माटो र पानीको संरक्षण र उचित व्यवस्थापनको आवश्यकता दर्शाउँछ । सम्पूर्ण जीवजगतको अस्तित्व रक्षाको लागि ।
बोटबिरुवाहरुले माटोमा भएका पोषक तत्वहरु पानीमा घोलिएको अवस्थामा जरा मार्फत सोसेर लिन्छन र हुर्कन्छन् । बोटबिरुवा भित्र पनि माटोबाट सोसिएर लिएका खाद्य तत्वहरु पानीकै माध्येमबाट विभिन्न भागहरु र कोषिकाहरुमा पुग्ने गर्दछ । विरुवाकोलागि आवश्यक पोषक तत्वहरु, पानी र बढ्न र हुर्कनकालागी चाहिने अन्य वातावरण पाउन माटोको अवस्था स्वस्थ हुन जरुरि हुन्छ । स्वस्थ माटो एउटा यस्तो मध्यम हो जसमा बोट विरुवाहरुलाई चाहिने खाद्य पदार्थहरु र चिसोपना पर्याप्त मात्रामा आफ्नो कणहरुमा सोसिएर राख्ने क्षमता हुन्छ । जुन पछि बोटबिरुवाहरु र प्राणीहरुको उपयोगकालागी उपलब्ध हुन्छ । अहिलेको अवस्थामा संसारको कृषि योग्य जमीन मध्ये ८०% आकाशको पानीमा निर्भर छन् जसले विश्वको खाद्यवस्तुको आवश्यकताको ६०% उत्पादन गर्दछ ।४०% खाद्य उत्पादन, सिंचाई सुविधा उपलब्ध भएको २०% कृषि जमीनले गर्दछ।प्राप्त तथ्यांक अनुसार कृषि बालीमा सिंचाई सुविधा उपलब्ध गराउन ७०% जति स्वच्छ पानीको प्रयोग भैरहेको छ । यी सबै आकाशे पानी र सिंचाइको पानीमा निर्भर कृषि प्रणालीको उत्पादनलाई दिगो बनाउने काम माटोको गुणस्तर र यसमा विद्यमान चिसोपना कायम राख्ने क्षमतामा भर पर्ने भएकोले माटोको स्वास्थ्य राम्रो राख्न अत्यन्त जरुरी छ । तसर्थ कुनैपनि कामगर्दा माटोको उत्पादन क्षमतामा नकारात्मक असर नपर्ने गरि गर्नु पर्दछ । तर मानिसहरुले विभिन्न उद्देश्य राखी अबैज्ञानिक तवरले गरिने क्रियाकलापहरुले गर्दा दिनानुदिन माटो तथा पानीको गुणस्तरमा ह्रास हुँदै गईरहेको छ । जसले कृषि उत्पादन र खाद्य सुरक्षामा ठुलो चुनौती थपी दिएको छ । वनजंगल फडानी र वनको गुणस्तरमा ह्रास, अबैज्ञानिक खेति प्रणाली, जथाभावी निर्माण गरिएका भौतिक पुर्वाधारहरु, भू-उपयोगिता प्रणालीहरु परिवर्तन जस्ता क्रियाकलापहरुले भूक्षय र पहिरोलाई बढावा दिएको छ भने खेति प्रणालीमा अत्येधिक मात्रामा प्रयोग हुने किटनाशक रसायनहरू, जथाभावी फालिने जैविक तथा अजैविक वस्तुहरुले गर्दा बढ्दै गईरहेको स्थलगत तथा जलीय प्रदुषण आदिले गर्दापनि यी श्रोतहरुको उपयोगितामा ह्रास आइरहेको छ । वर्तमान अवस्थामा विश्वमा ३३% जति माटोको गुणस्तर बिग्रेको छ भने यही अवस्थाले निरन्तरता पाउने हो सन् २०५० सम्ममा ९०% माटोको गुणस्तर खस्किने अनुमाग एफ.ए.ओ. ले गरेको छ ।
माटो र पानीको गुणस्तर बिग्रिने र त्यस कारणले गर्दा उत्पन्न हुने क्षतिबाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि बढ्दो अबैज्ञानिक र प्रकृति अमैत्री मानवीय क्रियाकलापहरुले गर्दा माटोको क्षयीकरण हुने क्रम बढ्दो छ भने र पानीको गुणस्तर र उपलब्धता पनि घट्दै गैरहेको छ । त्यसमाथि झन् जलवायु परिवर्तनले गर्दा तापक्रममा हुँदै गैरहेको बृद्धि र बर्षाको प्रकृतिमा आइरहर्को परिवर्तनका कारण विभिन्न किसिमका प्राकृतिक बिपदहरुको सामना नेपालले गर्नु परिरहेको छ । हिमालको हिउँको ढकान घट्नु, अतिवृष्टि, अनावृष्टि, सुख्खा खडेरी, वाढी, पहिरो, पानीको मूल सुक्ने, बोटबिरुवा तथा जिवजन्तुमा लाग्ने नयाँ रोग तथा किराहरु देखिनु जस्ता घटनाहरुले गर्दा स्थानीय जनजीवनमा नकारात्मक असरहरु बढ्दै गैरहेको देखिन्छ । विशेष गरि पानीको उपलब्धतामा कमि र माटोको उत्पादकत्व क्षमतामा ह्रास आई खाद्य सुरक्षामा चुनौती थपिने देखिन्छ । तसर्थ सम्बन्धित निकायहरुले एकिकृत रुपमा जलवायु परिवर्तनले पार्ने असरहरुलाई न्यूनीकरण गर्दै माटो र पानीको दिगो व्यवस्थापनका लागि आवश्यक नीति नियमहरु निर्माण गरि प्रकृति मैत्री योजना बनाइ सम्पूर्ण सरोकारवाला निकायहरुको सहभागितालाई बढावा दिंदै समन्वयात्मक हिसाबले काम गर्ने संस्कृतिको थालनी गर्नु पर्ने देखिन्छ ।
आशा छ, यस बर्ष “माटो र पानी: जीवनको थालनी” नारा सहित मनाउन लागिएको विश्व माटो दिवसले सम्पूर्ण मानव जगतलाई यस धर्तीमा आफ्नो र अन्य जीव जन्तुहरुको अस्तित्वको लागि माटो र पानीको महत्वलाई बुझ्न र चेतना जगाउनमा मद्दत पुर्याउनुका साथै सबै सरोकारवाला निकायहरुलाई एकै ठाउँमा ल्याई समन्वयात्मक हिसाबले माटो र पानीको दिगो व्यवस्थापन गर्न आवश्यक वातावरण मैत्री योजनाहरु बनाइ कार्यान्वयनमा लाने प्रेरणा दिने छ ।
सुजन महर्जन, वरिष्ठ जलाधार संरक्षण अधिकृत, बृहत जलाधार व्यवस्थापना केन्द्र, पोखरा
डा. शोभा श्रेष्ठ, माटो बैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय माटो बिज्ञान अनुसन्धान केन्द्र, खुमलटार, ललितपुर
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )