काठमाडौँ, भदौ-२६, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बताएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुग्नु भएको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आउनुभएको थियो ।उहाँ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत हुनुहुन्थ्यो ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा लाग्नुभएको थियो । २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नु भएको थियो ।
२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य बन्नुभएका नेम्बांग मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभएको थियो ।
२०५६ को निर्वाचन जितेर उहाँ सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामाआउनुभएको थियो ।
उहाँ जनआन्दोलन ०६२/०६३ सँगै पुनर्स्थापित संसदका सभामुख बन्नुभएको थियो । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो । चारपल्ट सभामुख बन्दा उहाँ सधैं सर्वसम्मत हुनुभएको थियो ।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।
श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )