म्याग्दी, साउन-५, देशको बिभिन्न भागमा गाडी छुट्ने म्याग्दीको सदरमुकाम बेनीमा रहेको बसपार्क केहि समय अगाडी अब्यबस्थित रुपमा पार्क गरिएका बस, जिप, ट्याक्सी अनि जताततै राखिएका टिकट काउन्टरका ट्यांकीले भद्रगोल जस्तै थियो । यात्रुहरु खोसाखोस गर्ने र कहिलेकाहीं यात्राहरु ठगिने सम्मका गुनासो आउने गर्दथे । यातायात ब्यबसायीलाई पनि ब्यबस्थित पस्पर्क नहुदा सकस नै थियो । त्यति मात्र नभएर सदरमुकामबाट जिल्लाका विभिन्न ठाउँमा छुट्ने जिप र ट्याक्सीलाई पनि पार्किङ्गको समस्या थियो ।अन्यत्र ठाउँ नभएको र भएको कालिपुल क्षेत्रपनि ब्यबस्थित नहुदा ब्यबसायी देखि यात्रुलाई समेत सकस हुने गरेको थियो । अन्तत: अव त्यो समस्याबाट मुक्ति मिलेको छ । अहिले बेनीको कालिपुल बसपार्क क्षेत्र टर्मिनल भवन बनेपछि चिटिक्क र ब्यबस्थित बनेको छ ।
बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएको टर्मिनल भवनको बुधवार बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको टर्मिनल भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि औपचारिक रुपमा भवनको उद्घाटन गरिएको हो ।
बेनी नगरपालिका वडा नं ८ कालिपुलमा पनि एउटा सुबिधा सम्पन्न सुन्दर बसपार्क बनाउन पुर्व वडा अध्यक्ष रामकृष्ण बराइलीको समयमा विसं २०७४ मा नगरपालिकाले रु २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना DPR तयार भएको थियो । आ.ब. ७७/७८ मा संघिय सरकारबाट ५० लाख प्रदेश सरकारबाट ५० लाख र बेनी नगरपालिकाबाट ३४ लाख बजेट प्राप्त गरि विभिन्न खण्डमा काम भएको हो । सघन सहरी बिकास मार्फ़त ५ करोड़ बजेट प्राप्त भएको र बहुबर्षिय ठेक्का मार्फत सो कार्य सम्पन्न भएको हो । गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माणगर्ने लगायतका पूर्वाधार निर्माण भइरहेको छ ।
टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा शुभ कन्ट्रक्सन र आयोजनाबीच रु दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता भएको थियो । नवनिर्मित टर्मिनल भवनबाट म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातको टिकट काउण्टहरु सञ्चालन गरिएको छ ।
विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो । बसपार्कमा निर्माण भएको एक तले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतीक्षालय छन् । भवन परिसरमा बसपार्कको आरसिसी ढलान गरिएको छ । अपाङ्गमैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ ।
नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्ने फर्निचर व्यवस्थापन गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बसपार्कलाई सफा र व्यवस्थित गराउनका लागि ७ जना कर्मचारीहरु नियुक्त गरिएको र व्यवसायीहरुबाट न्यूनतम सरसफलाई र पार्किङ शुल्क लिनेगरि अघि बढिएको बताउनुभयो । ‘‘टर्मिनल भवनको आम्दानी नगरपालिकामा जान्छ, बसपार्क व्यवस्थापनको लागि सहयोगबाट जुटाउने रकमको खर्च सम्बन्धमा बिधान र आर्थिक कार्यविधि बनाएर नगरपालिकामा पेश गरेका छौँ, नगरपालिकाले लिने निर्णयको आधारमा अघि बढ्छौँ’’–उहाँले भन्नुभयो । बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बालमन्दीर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन गर्ने मोडल तयार गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )