जलजला, असार-१५, पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा बिहिबार साँझ सम्पन्न १४ औ गाउँसभाको तेस्रो बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित गरेको हो ।
उपाध्यक्ष आचार्यले संघीय सरकारको रु. ४२ करोड १६ लाख पचास हजार, प्रदेश सरकारको रु. दुई करोड ८१ लाख २८ हजार, रु. दुई करोड १२ लाख २२ हजार र चालु आर्थिक बर्षमा खर्च हुन नसक्ने गरी कुल रु. ४७ करोड १० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।
संघीय सरकारले दिने अनुदान घटेको र सर्वोच्च अदालतको आदेशका कारण मुख्य आम्दानीको स्रोत कालीगण्डकीको बगर ठेक्का लगाउन नपाएका कारण आम्दानीमा परेको असर बजेटमा देखिएको उपाध्यक्षको आचार्यको भनाई छ ।
गण्डकी प्रदेश सरकारको साझेदारीमा वडा नम्बर ८ को सडक निर्माणमा सबैभन्दा बढी रु. दुई करोड र संघीय सरकारको साझेदारीमा धाईरीङको गण्डकी गोपाल गौशाला निर्माणमा रु. एक करोड ६० लाख बिनियोजन भएको छ ।
गाउँपालिकाको अस्थायी संरचना र कोल्ड स्टोर भवन बनाउन जग्गा खरिदका लागि रु. एक करोड ६० लाख बिनियोजन भएको छ । वडा नम्बर १, २, ३, ४, ६, ७, ८ ले सिफारिस गरेका वडा स्तरीय योजनालाई लाई रु. ४०÷४० लाख, वडा नम्बर ५ लाई रु. ४५ लाख र ९ लाई रु. ३७ लाख बिनियोजन भएको छ ।
वडा कार्यालय भवनको बाँकी भुक्तानी दिन रु. १५ लाख, गाउँपालिका भैपरी पूर्वाधार शिर्षकमा रु. २० लाख, वर्थीङ सेन्टरको भवन निर्माण साझेदारीमा रु. १४ लाख बिस हजार, एम्बुलेन्स सञ्चालन गर्न रु. ५ लाख, विपन्नको स्वास्थ्य बिमाका लागि रु. नौ लाख, महिला स्वमसेविकालाई यातायात खर्च वापत रु. सात लाख असी हजार, ग्राम प्रकाश माविमा बाली विज्ञान विषय पढ्ने विद्यार्थीको छात्रवृत्तिका लागि रु. तीन लाख २४ हजार बिनियोजन भएको अध्यक्ष आचार्यले बताउनुभयो ।
गाईगोरु पाल्ने कृषकलाई अनुदान दिन रु. आठ लाख, पशु बिमाका लागि रु. तीन लाख, कृतिम गर्भाधान अनुदान रु. दुई लाख, आलु खेतीको कार्यक्रमलाई रु. ३५ लाख, विपद् तथा निजी आवास भुक्तानी रु. ४० लाख, रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रमलाई रु. ३० लाख बिनियोजन भएको छ । दलित र मगर संग्रहालय बनाउन रु. ५०÷५० लाख तथा आरन सुधार कार्यक्रमलाई रु. एक लाख बिनियोजन भएको छ ।
नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यहरुको बिरोध र अवरोधका कारण दिनभर तनावग्रस्त बनेर स्थगित भएको गाउँसभा सहमति जुटेपछि साँझ ७ बजेदेखि पुन सूरु भएको थियो ।
जलजला गाउँ कार्यपालिकाका प्रवत्ता हरिबिकास जिसीले बिरोधमा उत्रिएका गाउँसभा सदस्यहरुको माग अनुसार विद्याज्योती माविमा छात्रावास सञ्चालन गर्ने कार्यक्रमका लागि गरिएको रु. ४० लाख, मल्लाजमा चिकित्सक नियुक्त गरेर सेवा सञ्चालनको प्रस्तावित बजेट हटाउने र वडा विकास कार्यक्रमको बजेट घटाए पछि सहमति जुटेको र गाउँसभा भएर सर्वसहमतिमा नीति तथा कार्यक्रम पारित र बजेट पारित भएको जानकारी दिनुभयो ।
मयका लागि भनेर अध्यक्षले साढे १ बजे स्थगित गरेको बैठक साँझ ७ बजेपछि चलेको थियो । सभास्थलमा दुईपक्षीय बार्ता र छलफल जारी गरिरहँदा सभाका सदस्य, कर्मचारी र सुरक्षाकर्मीहरु भित्र बाहिर गरिरहेका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )