काठमाण्डाै – भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । एअर इण्डियाकाे विमानमार्फत दिउँसो २ बजे खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवत्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो ।
खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतवार १० लाख ‘काेभिशिल्ड’ डोज खोप नेपाल आइपुगेको हो । बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने मन्त्रालयका सहप्रवक्ता अधिकारीकाे भनाइ छ ।
काठमाण्डौ आइपुगेको १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ । गएको बुधबार नेपालले सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिद गर्ने सम्झौता गरेकोमा त्यसको पहिलो खेप नेपाल ल्याइएको हो ।
यसअघि भारत सरकारले नेपाललाई अनुदान स्वरूप कोभिशिल्ड खोपको १० लाख मात्रा उपलब्ध गराएको थियो । त्यही खोप प्रयोग गरेर नेपालमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भइसकेको छ । सरकारले फागुन २३ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने जनाएको छ ।
अहिले भारतबाट ल्याइएको खोप पनि पहिलाकाे जस्तै सुरक्षित भएकाले ढुक्क भएर लगाउन राष्ट्रिय खाेप सल्लाहकार समितिका सदस्य डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )