बेनी, जेठ-३, म्याग्दीमा स्थानीय तहका विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरिएको छ। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा स्थानीय तहका विषयगत समितिका रहेका जनप्रतिनिधिहरुलाई क्षमता विकास सम्वन्धी दुइदिने तालिम संचालन गरिएको हो ।
तालिमको पहिलो दिनमा क्षमता विकास विज्ञ पंकज अधिकारीले स्थानीय तहको काम, कर्तब्य र अधिकार बस्तिस्तरिय, वडास्तरीय योजना छनौट, प्राथमिकीकरण र योजना सम्बन्धि अभ्यास सहितको प्रशिक्षण गराउनुभएको थियो । अधिकारीले स्थानीय तहमा समिति, उपसमिति गठन सम्बन्धि ब्यबस्था, योजना तर्जुमा प्रक्रियामा समितिहरुको भूमिका, समिति, उपसमिति गठन तथा संचालन नमुना कार्यविधि अभ्यास समेत गराउनुभएको थियो ।
त्यसैगरी तालिमको पहिलो दिनमा शाखा अधिकृत प्रकाश ओझाले विषयगत समितिका पदाधिकारीलाई शासन, सुशासन, सदाचार र कार्यसम्पादनमा व्यवसायिकता विषयमा प्रशिक्षण दिनुभएको थियो । दोश्रो दिनमा शाखा अधिकृत ओझाले सामाजिक जवाफदेहिता र यसका औजारहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी तुलसी राम पौडेलले लैङ्गिक समनाता र सामाजिक समावेशीकरण अवधारणा, लैंगिक उत्तरदायी बजेट लैससास परिक्षण अवधारणाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
जिल्ला समन्वय अधिकारी राजेन्द्र पोखरेलले स्थानीय तहबाट संचालित कार्यक्रमहरुको अनुगमन तथा मुल्यांकन र सरोकारवालाहरुको भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमको संक्षेपीकरण सन्तुष्टि सर्वेक्षण र दुइ दिने तालिमको औपचारिक समापन गरिएको थियो ।
जिल्ला समन्वय प्रमुख राजकुमार थापाले कामको दौरानमा जुन समस्या हुन्छ त्यो समस्यालाई न्यूनीकरण गर्नको लागी यो कार्यक्रमको आयोजना गरेकोमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई धन्यबाद प्रदान गर्नुभयो । उहाँले राजस्वको कुरामा सबै पालिकाको एकरुपता आओस भन्दै संघियता प्रति उठेको वितृष्णाको कुरालाई यो तालिमले सकारात्मक सोचाइमा लाने बिचार समेत ब्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा सहजकर्ताको तर्फबाट क्षमता विकास विज्ञ पंकज अधिकारी र सहभागीको तर्फबाट मंगला गाउँपालिकाका कार्यपालिका सदस्य सरस्वती उपाध्याय र बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्यले दुइदिने तालिमको अनुभव ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षतामा र समन्वय अधिकारी राजेन्द्र पोखरेल्को संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )