विभिन्न घटनामा आधारित रहेका समाचारहरु तथ्यमा भन्दा बढी सनसनीपूर्ण बनाउन खोज्दा सही समाचार सम्प्रेसण हुन सरकारी कार्यालयका प्रवक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाण्डाैमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न सरकारी कार्यालयका प्रवक्ताहरुले सही सूचनामा आधारित समाचार प्रसारण हुन छाडेको गुनासो गरेका हुन् ।
खासगरी अपराध अनुसन्धानसँग जोडिएका विषयहरुमा कसले छिटो समाचार लेख्ने भन्ने प्रवृति रहेको र यसले अनुसन्धानमा असर पुर्याउने गरेको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताउनुभयो । समाचार लेखेकै आधारले अनुसन्धानको ट्रयाक बिग्रने गरेको उहाँको गुनासो छ ।
नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेलले समाचार र समाचारको शिर्षक फरक हुने गरेको पाइएकोले त्यसको अनुगमन प्रेस काउन्सिलले गर्नुपर्ने बताउनुभयो । कुनैपनि पत्रकारले मिडिया हाउस परिवर्तन गरेपछि आफ्नो परिचय नदिई सूचना माग्ने प्रवृतिले पनि सूचना प्रवाहमा समस्या हुने गरेको पौडेलले बताउनुभयो ।
सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले को पत्रकार हो, कुन मिडियाको पत्रकार हो र उसको जिम्मेवारी के हो भन्ने किसिमको परिचय थाहा पाउनै कठिन हुने गरेको बताउनुभयो । खासगरी सीमा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरुमा सबैभन्दा बढी समस्या रहेको पनि उहाँले बताउनुभयो । यस्तै अपराधिक क्रियाकलाप गर्न खोज्ने मनसाय राखि पत्रकारिता गर्नेहरुमाथि निगरानी राख्नुपर्ने पनि उहाँले बताउनुभयो ।
गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले धेरै प्रत्रकारहरुलाई आचारसंहिताको बारेमा जानकारी नै नहुँदा समाचार सम्प्रेषणमा समस्या हुने गरेको बताउनुभयो । सन्तुलित र मर्यादित पत्रकारिताको अपेक्षा गरिएको र त्यसका लागि विभिन्न कार्यक्रमहरु गरी जानकारी दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नेपालको संविधानले प्रेस स्वतन्त्रताको कुरा गरेको बताउनुभयो । तर उच्च पदस्थहरुको विरोध गर्यो भने चर्चित भइन्छ भन्ने कुराले पत्रकारहरुमाथि प्रश्न उठ्ने गरेको बताउनुभयो । राष्ट्रले गरेको काममा सकारात्मक सन्देश दिएमा राष्ट्रिय एकता सद्भावमा बल पुग्ने तर पत्रकारहरुमा त्यस्तो मनस्थिति कम देखिने गरेको बताउनुभयो ।
राष्ट्रिय महिला आयोगकी प्रवक्ता मीरा शेरचनले पत्रकारहरुलाई जिम्मेवार भएर रिपोर्टिङ गर्ने कुरामा प्रेस काउन्सिलले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । खासगरी महिला सम्बन्धी घटनामा पत्रकारहरुले गोपनियतामा ध्यान नदिएको पाइएको उहाँले बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका सूचना अधिकारी सोमनाथ सुवेदीले पत्रकारहरुलाई हुने थ्रेटमा राज्यका निकायहरुले सम्बोधन गरिदिने वातावरण बन्नुपर्ने बताउनुभयो । पत्रकारलाई आफ्नै कारणले कुनै थ्रेट भएको खण्डमा पत्रकार आफैले समेत सच्याउनुपर्ने बताउनुभयो । सच्याइने कामको नेतृत्व प्रेस काउन्सिलले गर्नुपर्ने बताउनुभयो ।
सूचना तथा प्रसारण विभागका प्रवक्ता इश्वरराज दाहालले कुनैपनि मिडिया दर्ता भइसकेपछि उक्त मिडियामा काम गर्ने पत्रकारलाई परिचयपत्र जारी गरिने र त्यही परिचयपत्रको आधारमा जुनसुकै ठाउँबाट सूचना संकलन गर्न सक्ने बताउनुभयो । यो विषय पनि पत्रकार आचारसंहितासँग जोडिने भएकोले त्यसको नियमन गर्न विद्यमान ऐन कानूनमा संशोधन आवश्यक रहेको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारको परिचय र सञ्चार माध्यम खुल्दैन र सूचना लिएर कहाँ प्रयोग गर्न खोजेको छ भन्ने कुरा स्पष्ट नभएसम्म सूचना नदिन आग्रह गर्नुभयो । पत्रकारलाई चिनेर मात्रै सूचना दिनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै सत्यको अन्वेषण, तथ्यको सम्प्रेषण गर्ने र त्यो ठिक छ की छैन भनेर हेर्ने काम प्रेस काउन्सिल नेपालले गर्ने बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )