बेनी, बैशाख-१७, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका सदस्यहरुले आफुलाई ग्राहकका रुपमा नभई संस्थाको मालिकका रुपमा बुझ्दाका दिन सहकारीका समस्या समाधान हुने बताउनु भएको छ ।
विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीले शनिवार आयोजना गरेको वित्तीय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बताउनु भएको हो ।
सहकारी सदस्यहरुको आर्थिक सहभागिता सहित सञ्चालन हुने सहकारीमा सदस्यले आफुलाई मालिकको रुपमा नभई ग्राहकको रुपमा हेर्ने गरेका कारण समस्या देखिएको बताउनुभयो । उहाँले जुनदिन देखि सदस्यहरुले आफुलाई मालिकका रुपमा बुझ्न थाल्छन्, त्यो दिनदेखि सहकारीहरु समस्यामा नपर्ने बताउनुभयो ।
सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सञ्चालकहरुले सदस्यहरुको चाहना र आवश्यकताका आधारमा योजना बनाउने, शेयर सदस्यहरुले संस्थाको योजनालाई सफल पार्नका लागि सहयोग गर्ने र कर्मचारीले दैनिक कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सके सहकारीका समस्या समाधान भई सहकारीमार्फत आर्थिक तथा सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्न सकिने बताउनुभयो ।
सहकारीमा यतिबेला वचत फिर्ताको चाप बढेको भन्दै जिसीले वचत फिर्ताको चाप बढ्दै गए त्यसको असर ऋणी सदस्यहरुमा पर्ने भएकाले ऋण लगेर भुक्तान नगरेका सदस्यहरुले यतिबेला ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा बेनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बाँनियाले विश्वामित्र सहकारीमा सदस्यहरुको सक्रिय सहभागिता, सञ्चालकहरुको प्रभावकारी सञ्चालन र कर्मचारीहरुको सही व्यवस्थापन भएकाले सहजताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
बजारमा चल्ने हल्लाका पछि नलाग्न र संस्थाको यथार्थ अवस्था बुझेर ढुक्कसंग कारोबार गर्न उहाँले सबै शेयर सदस्यहरुलाई आव्हान समेत गर्नुभयो ।
संस्थाका अध्यक्ष याम बहादुर बानियाले शेयर सदस्यहरुको चाहना र भावना अनुसार संस्था सञ्चालन भएकाले दिर्घकालिन लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो ।
विश्वामित्र सहकारीमा हाल ७ सय ७५ जना शेयर सदस्य, ३ करोड ७० लाख शेयर रकम, १९ करोड वचत रकम, २२ करोड ऋण लगानी, १ करोड ५५ लाख कोष रहेको प्रवन्धक सरस्वती बानियाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत शिक्षा उपसमितिका संयोजक देवी जिसी र सञ्चालन सचिव भोज बहादुर रिजालले गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )