म्याग्दी, बैशाख-११, म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयले आफ्नो ३९औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा शनिवार विद्यार्थीलाई पुरस्कार वितरण तथा अभिभावक भेला कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको हो ।
वार्षिकोत्सवको अवसरमा गएको शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा उत्तीर्ण हुने विद्यालयको बाल कक्षादेखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिलसहित शैक्षिक सामग्रीले पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि शिक्षक, विद्यार्थी र अभिभावक एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
वडाध्यक्ष बानियाँले पछिल्लो समय बसाइसराइलगायत विभिन्न कारणहरुले गर्दा सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गैरहेको बताउँदै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सरोकारवाला निकाय सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो । पुलाचौरका वडा सदस्य तथा विद्यालयको पदेन सदस्य देवीदत्त पौडेलले विद्यालयको चौतर्फी विकास गर्नका लागि वडाको तर्फबाट आवश्यक पहल गरिने बताउँदै विद्यालयको विकासमा सबैले हातेमालो गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण उपाध्यायले विद्यालयको शैक्षिक तथा भौतिकलगायत समग्र प्रगति र विषयवस्तुको बारेमा जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष तथा पूर्व प्रअ गणेशबहादुर कार्की, विद्यालय व्यवस्थापन समिति सदस्य यज्ञबहादुर कार्की र विद्यालयको भूतपूर्व विद्यार्थी एवं म्याग्दीका पत्रकार प्रताप बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पूर्व प्रअ कार्कीले स्टेशनरी वितरण गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्रीको अध्यक्षता, शिक्षकद्वय खड्कबहादुर खत्रीको स्वागत र भरत कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । चिप्लेटी निवासी स्वर्गीय पोषकबहादुर खत्रीले १ रोपनी ४आना जग्गा विद्यालयलाई निःशुल्क रुपमा दिएपछि २०४१ सालमा डिम्ब आधारभूत विद्यालय स्थापना भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )