बेनी, म्याग्दी चैत-३०, गैह्रसरकारी संस्था महासंघ नेपालले आफ्नो नितिमार्गनिर्देशन तथा रणनीति निर्माणका लागि शुक्रबार बेनीमा एक परामर्श कार्यक्रम सम्पन्न गरेको छ। म्याग्दीमा संचालित विभिन्न गैह्रसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा लोकतन्त्रको सबलीकरण, मानव अधिकार, क्षमता विकास र सुशासन लगायतका विषयमा विस्तृत छलफल भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गैह्रसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले स्थानीय तहहरूले आफ्ना नीति तथा कार्यक्रम बनाउँदा र कार्यान्वयन गर्दा गैह्रसरकारी संस्थाहरूलाई पनि साथसाथै लैजानुपर्नेमा जोड दिनुभयो। सामाजिक रूपान्तरणमा सरकारी र गैह्रसरकारी निकायको संयुक्त प्रयास भएमा मात्र सफलता मिल्ने उहाँको भनाई थियो।
केन्द्रीय अध्यक्ष भट्टराईले हाल गैह्रसरकारी संस्थाको कार्यक्रम सञ्चालनका लागि छुट्टै ऐन नभएको कारणले काम गर्न कठिनाई भइरहेको बताउनुभयो। उहाँले गैह्रसरकारी संस्थाका कार्यक्रमलाई प्रभावकारी बनाउन छिटो ऐन निर्माण गरी सहज वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो।
परामर्श कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो राय व्यक्त गरेका थिए। गैह्रसरकारी संस्था महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष हरि पौडेलले जिल्लामा सञ्चालन हुने हरेक कार्यक्रममा गैह्रसरकारी संस्थाहरूले सहयोग, सहकार्य र परामर्श प्रदान गर्दै आएको जानकारी दिनुभयो।
गैह्रसरकारी संस्थाले सञ्चालन गर्ने सम्पूर्ण कार्यक्रम कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सहभागीहरूबीच महत्त्वपूर्ण छलफल भएको थियो। गैह्रसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दीपक पौडेलले अहिले अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित केही परियोजनाहरू अन्योलमा परेको अवस्थामा राज्यले उक्त कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरी अपनत्व लिनुपर्ने र सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटीका उपसभापति विष्णु रोकाले अहिलेको परिस्थितिमा मनोसामाजिक समस्या समाधान गर्न विशेष कार्यक्रम ल्याउन पहल गर्नुपर्ने बताउनुभयो। त्यसैगरी, सञ्चारिका समूह नेपाल म्याग्दी शाखाका अध्यक्ष देवी जिसीले पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो।
महिला अधिकार रक्षक सञ्जालका अध्यक्ष विष्णु गौतम र मिलन म्याग्दीका सचिव ज्ञानु बानियाँ लगायतले पनि छलफलमा आफ्नो राय व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा गैह्रसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव राजेन्द्र पौडेल, गण्डकी इन्चार्ज गोपाल खड्का र केन्द्रीय सदस्य शिव प्रसाद शर्मा, म्याग्दी स्थित संगम म्याग्दी, मिलन म्याग्दी, कालिपुल आमासमूह, नेपाल रेडक्रस सोसाइटी, सञ्चारिका समूहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
परामर्श कार्यक्रम गैह्रसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दीपक पौडेलको अध्यक्षता, गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईको प्रमुख आतिथ्यता र गैह्रसरकारी संस्था महासंघ म्याग्दीका सचिव खुम बहादुर किसानको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव कमला बानियाँले गर्नुभएको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )