बेनी, फागुन-२५, ११५औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा, अन्तरपुस्ता महिलावादी मञ्चको नेतृत्वमा देशव्यापी रूपमा सञ्चालन भइरहेको महिलावादी अनुपम अभियान, २०८४ म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा सम्पन्न भएको छ। “महिला, हुनुपर्छ पहिला” भन्ने मूल नारासँगै महिलाका अधिकार र नेतृत्वका अवसरलाई प्राथमिकतामा राखेर कार्यक्रम सम्पन्न भएको हो। यस अभियानले महिला सशक्तिकरणको महत्त्वलाई पुनः पुष्टि गर्दै महिलाका हक र अधिकारको बारेमा समाजमा नयाँ चेतना फैलाउने काम गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख दिलकुमारी खत्रीले अवसर र अधिकार पाउने हो भने पुरुषले गरेको भन्दा महिलाले गरेको कामकारबाही बढी प्रभावकारी हुन्छ भन्ने तथ्य समाजको नेतृत्व गरेका महिलाहरुले सावित गरेका बताउनुभयो । बिशिष्ट अतिथिको रूपमा नगर प्रमुख सुरज के सीले महिलाको सशक्तिकरणमा नगरको प्रतिबद्धता दर्शाउनुभयो।
अनुपम अभियानको बारेमा “महिला अधिकारका लागि राष्ट्रिय अभियान”को सदस्य जमुना आचार्यले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिनुभएको थियो। यस कार्यक्रममा बेनी नगरपालिका महिला विकास शाखा, बेनी नगरपालिका वडा नं. ६, ७, ८ का महिला जनप्रतिनिधिहरु, महिला र मानव अधिकारकर्मी, महिला उद्यमी, गैरसरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरु, बुद्धिजीवी, पत्रकार महासंघका सदस्य लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका थिए।
कार्यक्रममा बेनी नगरपालिका वडा नं. १० का महिलाहरुले जिल्लामा पहिलो पटक बाजा बजाएर आफ्नो सांस्कृतिक कला प्रदर्शन गरेका थिए। यसैगरी कार्यक्रममा महिलालाई नेतृत्व अवसर र चुनौतिका एवं महिला सशक्तीकरणको विषयमा खुल्ला लोकगित प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। प्रतियोगितामा स्वास्थ्यकर्मी समुह पहिलो, गणेश आमा समूह खबरा दोस्रो र दिदी बहिनी सहकारी बेनी तेस्रो भएका थिए ।
कार्यक्रमको सुरुआत बिरेन्द्रचोकबाट भएको यात्रा पछि, बेनी बजार परिक्रमा गर्दै मंकाखलको सभाहलमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेको अध्यक्षता, सामाजिक विकास समितिका संयोजक चक्र केसीको स्वागत र महिला विकास शाखाका डमसरा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्ला समन्वय समिति र सामाजिक विकास कार्यालयले समन्वय गरेको कार्यक्रममा नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, दिदिबहिनी बचत तथा ऋण सहकारी संस्था, संगिनी बचत तथा ऋण सहकारी संस्था, मिलन महिला बचत तथा ऋण सहकारी संस्था, महिला उद्यम विकास समिति, मिलन, संगम, फेकोफन, समावेशी मञ्च र अधिकारका लागि राष्ट्रिय शिक्षा अभियान नेपाल सहआयोजक रहेका थिए ।
राष्ट्रिय शिक्षा अभियान नेपाल (National Campaign for Education Nepal – NCE Nepal) ले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न तथा सबैका लागि समान पहुँच सुनिश्चित गर्न अभियान सञ्चालन गर्नु। शिक्षा सबैको मौलिक अधिकार हो भन्ने मान्यतालाई प्रवर्द्धन, शिक्षामा असमानता हटाउन पहल, शिक्षा सम्बन्धी नीति निर्माण र कार्यान्वयन प्रक्रियामा नागरिक समाजको सक्रिय सहभागिता सुनिश्चित, शैक्षिक संस्थाहरूमा जवाफदेहिता र पारदर्शिता बढाउन निगरानी र मूल्याङ्कन प्रणाली सुदृढ, शिक्षा प्रणालीमा आवश्यक सुधार र रूपान्तरणका लागि साताव्यापी अभियानहरू सञ्चालन गर्ने उद्देश्यका साथ आफ्नो अभियानलाई अगाडी बढाइरहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )