म्याग्दी, फागुन -२८, गैरसरकारी संस्था मिलन म्याग्दीले आफ्नो २६औं स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। यस अवसरमा बेनी नगरपालिका–५, पुलाचौर र सदरमुकाम बेनीमा सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घाटन बेनी नगरपालिका मेयर सुरत केसीले गर्नुभयो। उहाँले मिलन म्याग्दीले स्वास्थ्य, पोषण तथा झोलुङ्गे पुल लगायतका क्षेत्रमा नगरपालिकासँग सहकार्य गर्दै उल्लेखनीय कार्य गरेको बताउनुभयो। साथै, मिलन म्याग्दीले अन्य गैरसरकारी संस्थाहरूभन्दा फरक पहिचान बनाउन सफल भएको र आफ्नै स्रोतसाधनबाट समेत विभिन्न कार्यक्रम सञ्चालन गरेकोमा प्रशंसा गर्नुभयो।
जिल्ला समन्वय समिति म्याग्दीकी उपप्रमुख डिलकुमारी खत्रीले मिलन म्याग्दीमार्फत समुदायस्तरमा सञ्चालित कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो।
कार्यक्रममा डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारी, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष दीपक पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, मिलन म्याग्दीका पूर्व अध्यक्ष विनय श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
सोही अवसरमा नगरप्रमुख केसीले मिलन म्याग्दीको रजत जयन्ती विशेष स्मारिकाको विमोचन गर्नुभयो। साथै, बेनी नगरपालिका–५ पुलाचौरस्थित जनकल्याण माविका तीन जना विपन्न विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो।
मिलन म्याग्दीका संस्थापक सल्लाहकार अशोक बानियाँ, स्मारिका प्रकाशन मण्डलका संयोजक एवम् संस्थाका पूर्व अध्यक्ष शिव बानियाँ, तथा हाल जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो।
वि.सं. २०५६ सालमा स्थापना भएको मिलन म्याग्दीले झोलुङ्गे पुल निर्माणका साथै वन, वातावरण तथा जलवायु परिवर्तन, वैकल्पिक ऊर्जा प्रवद्र्धन, सुधारिएको चुलो निर्माण, सुरक्षित मातृत्व, पोषण तथा स्वास्थ्य, लैङ्गिक समानता, जिविकोपार्जन, सचेतना, कृषि तथा पशुपालन, राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सीपमूलक तालिम, युवा स्वरोजगार, जलवायु परिवर्तन तथा जैविक विविधता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
संस्थाले आईडी नेपालसँगको सहकार्यमा एफएचएन-आईएल कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रम मिलन म्याग्दीकी अध्यक्ष दिलमाया बिटालुको अध्यक्षता, उपाध्यक्ष तिलकुमारी रानाको स्वागत तथा सञ्चालनमा सम्पन्न भएको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )