बेनी, २२ माघ, म्याग्दी जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ। माघ २२ गते (आज) देखि जिल्लाका ६ वटै स्थानीय तहहरूमा रहेका विद्यालय र स्वास्थ्य संस्थाहरू मार्फत खोप लगाउने कार्यक्रम सुरु गरिएको हो । जिल्लाभर ४,७६१ जना छात्रा तथा किशोरीहरू खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्लाका ६ वटै स्थानीय तहहरूमा माघ २२ देखि २९ गतेसम्म छात्रा तथा किशोरीहरूलाई खोप लगाइने छ। यस अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिएको छ भन्ने जानकारी प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले दिनुभयो।
सदरमुकाम बेनी स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र स्वास्थ्य कार्यालयका कर्मचारीहरूको सहभागितामा खोप कार्यक्रमको शुभारम्भ गरिएको थियो।
यस अभियानका लागि विद्यालय र स्वास्थ्य संस्थाहरूमा गरी १४२ वटा खोप केन्द्रहरूको व्यवस्था गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका अनुसार, जिल्लाका ६ स्थानीय तहहरूमा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत ४,६८८ जना छात्रा र विद्यालय बाहिर रहेका ७३ जना किशोरी गरी कुल ४,७६१ जनालाई एचपीभी खोप लगाइने छ।
जिल्लाका विभिन्न स्थानीय तहहरूमा खोप लगाइने किशोरीहरूको संख्या अन्नपूर्ण गाउँपालिकामा ३९७ जना, रघुगंगा गाउँपालिकामा ४९५ जना, बेनी नगरपालिकामा १,८६८ जना, मंगला गाउँपालिकामा ५६४ जना, मालिका गाउँपालिकामा ८२९ जना र धवलागिरी गाउँपालिकामा ६०८ जना रहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृतरूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने भएको हो । पाठेघरकाे क्यान्सर राेकथाम गर्ने याे प्राथमिक उपाय हाे । खाेप लगाएपनि दाेस्राे तहकाे राेकथाम विधीकालागी स्क्रीनिङ गर्ने र तेस्राे तहमा उपचार सुरू गर्ने राेकथामकाे उपाय हाे ।
यस अभियानले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध सुरक्षा प्रदान गर्ने र किशोरीहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )