जलजला, माघ-१३, पर्वतको जलजला गाउँपालिका–७, धाईरिबको गोकुलधाममा सञ्चालित श्री गण्डकी गोपालगौशाला लाई विभिन्न व्यक्ति तथा सहयोगदाताहरुले सहयोग गरेका छन् । गौशाला सञ्चालन गर्नको लागि सहयोगदाताहरुबाट प्राप्त जिन्सीलगायत सहयोगलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
गौशालालाई गएको कार्तिक महिनादेखि हालसम्म विभिन्न व्यक्तिहरुले आफ्नो र परिवारको जन्मदिन, विवाहको वर्षगाँठ, पितृउद्धार तथा विशेष दिनको अवसर पारेर स्वच्छिक रुपमा गाईपालनका लागि पराल, दानालगायत जिन्सी सामानहरु सहयोग गरेका हुन् । पर्वत मिलनचोककी स्थानीय अगुवा तथा सामाजिक अभियन्ता जमुना आचार्यको व्यक्तिगत पहलमा गौशालामा पालिएका गाई र बाच्छाबाच्छीका लागि सङ्कलित पाँचलाख बढीको नगद तथा जिन्सीलगायत सहयोगका विवरणहरु सार्वजनिक गरिएको छ ।
गौशालाको लागि पर्वतको पाब, खुर्कोट, नाग्लीबाब, फलेबास, लेखफाँट, सालिजा, धाईरिङ्ग , खोलाखेतलगायत स्थानबाट नुन र पराल सहयोग भएको थियो । स्वदेश तथा विदेशमा रहेका करिब २ सयजना सहयोगदाताहरुबाट आर्थिक तथा जिन्सी सहयोग भएकोमा जिन्सी र नगदबाट कुल १७ सय ५१ भारी पराल सङ्कलन गरिएको अभियन्ता आचार्यले बताउनुभयो । सालिजा र फलेबासमा टोल विकास संस्थाको सक्रियतामा पराल सङ्कलन गरिएको थियो । कार्यक्रममा झण्डै दुईसय जना व्यक्तिहरुले गरेको नगदसहित जिन्सीलगायत विभिन्न सहयोगको बारेमा सामाजिक अभियन्ता आचार्यले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले यसवर्ष गौशालामा आवश्यक भौतिक संरचना निर्माण गर्नका लागि गाउँपालिकाबाट एक करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । साथै उहाँले गौशालाकै लागि यसैवर्ष संघीय सरकारबाट पनि एक करोड ४५ लाख रुपैयाँ बजेट परेको बताउनुभयो । स्थानीय तथा संघीय सरकारबाट परेको बजेटलाई गौशालामा आवश्यक पर्ने विभिन्न संरचनाहरु निर्माण गरिने बताउँदै अध्यक्ष आचार्यले गौशालामा पालिएका गाईको मलमुत्रलाई कृषि तथा खाद्यान्न बालीमा प्रयोग गरिने बताउनुभयो । उहाँले गाईको मलसँगै वनजङ्गलको पातपतिङ्गरलाई समेत सङ्कलन गरी अर्गानिक मल बनाइने र गाउँपालिकामार्फत प्याकेजिब गरेर सहुलियतदरमा बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रम गौशाला व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ उपाध्यायको अध्यक्षता, सचिव रामचन्द्र आचार्यको स्वागत र सामाजिक अभियन्ता जमुना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । पछिल्लो समय गौशालामा पालिएका गाई तथा बाच्छाबाच्छीका लागि सहयोगदाताहरुले स्वतस्फूर्त रुपमा सहयोग गर्दै आइरहेका छन् । सहयोगी मनहरुले स्वच्छिक रुपमा गौशाला व्यवस्थापन समिति र सामाजिक अभियन्तालाई फोन सम्पर्क गरेर नगद, जिन्सीलगायत सहयोगहरुको घोषणा गरी उपलब्ध गराउँदै आएको समितिले जनाएको छ ।
श्री मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यको सङ्कल्पमा वि.सं. २०७२ सालमा स्थापना गरिएको गण्डकी गोपाल गौशालामा हाल माउगाई, बर तथा बाच्छी गरेर कुल ५८ वटा रहेका छन् । परम्परागत रुपमा पालिँदै आएका रैथाने जातका गाईको संरक्षण गर्ने उद्देश्यसहित गौशालाको अवधारणा ल्याएर गाईपालन गरिएको हो । समाजमा हुने विभिन्न धार्मिक कार्यहरुमा गाईको दुध, गोबर तथा
गहुँतको अनिवार्य रुपमा प्रयोग गर्ने गरिन्छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )