कृष्ण जि.सी.
मंसिरका छोटा दिन झमक्कै साँझ पर्न थालिसकेको थियो । बेनीबाट करिव ३.४५ बजे छुटेको बोलेरो जिप धौलागिरि गाउँ पालिकाको मच्छिम पुगेको थियो । जिपले हेडलाइट बाल्यो । जिपमा ४ जना मात्रै यात्रु थियौं हामी बेनीबाट छुटेको जिप मछिम पुग्दा सम्म कोहि कसैसंग बोलेका थिएनौ । म ड्राइभरको छेउमा बसेकोले ड्राइभरसंग बेला बेलामा कुरा गर्थें । बरु पश्चिम म्याग्दीमा चल्ने जिप भएका कारण म्याग्देली कलाकारका गीत सुनिरहेका थियौं । मच्छिम पुगेपछि पछाडी बसेका एकजना यात्रुले ड्राइभरलाइ गीतको आबाज सानो बनाउन अनुरोध गरे । सायद उनको फोन आएको थियो । ड्राइभरले गीत मधुरो बनाइ दिए । उनले फोनमा कुरा गर्दै थिए “आमा म बाटोमा छु बेलुका लुलांग भन्ने ठाउमा पुग्या पछी फोन गरुला अहिले म त्यता पुग्दैछु आज त्यहीं बस्छु भोलि त्यहाँबाट हिंडेर १ दिनमा गुर्जा पुगिन्छ । “ उनले आमा संग फोन गरेको सुनेपछि मलाई पनि मेरी आमाको यादले झस्कायो । दुनियामा आमा नै हुन् हर बखत सन्तानको चासो लिईरहने । मेरि आमालाई सम्झिएँ । उनले भन्दैथिए “आमा तिम्ले हाम्रा चिन्ता किन लिया हौ ? भोलि पुग्यापछी फोन गर्न्या छु ।”
उनको बोलीमा पश्चिमे लबज थियो । फोनमा बात सकेपछी मैले मेरो सिटबाट पछी फर्केर सोधें “हजुरको घर कता?” उनले भने “कर्णाली तिर हो?” मैले बिस्तृतमा सोधें उनले भने “कर्णाली प्रदेश, कालिकोट जिल्ला पलाटा गाउँपालिका वडा नं ६ ।“ मैले नाम उमेर सबै सोध्न भ्याएं किनकि उनि संगै म पनि लुलांगसम्म पुग्नु थियो । उनको नाम अंकित विश्वकर्मा थियो । अंकित भर्खरै २१ वर्षमा टेकेका छन् । कक्षा १२ उत्तीर्ण गरेका अंकित हालसालै प्रदेश लोकसेवा अन्तर्गत चौथो तह (प्रशाशन) मा छनोट भएर कात्तिक ३० गते धौलागिरी गाउँ पालिका वडा नं १ गुर्जाको वडा सचिवको नियुक्त भई हाजिर भएका थिए । कर्मचारी संचयकोष र नागरिक लगानी कोषको कार्यालय पोखरामा अफिसियल काम पश्चात गुर्जा फर्कदै रहेछन । उनले गुर्जाको बारेमा त्यति धेरै बुझ्न पाएकै छैनन् ।
कुरा हुँदै जाँदा हामी लम्सुंगबाट उकालो लाग्यौं । माथि डाँडोमा झिलिमिली बत्ति देखाउंदै ड्राइभरले भने “उ त्यहाँ पुग्नु पर्ने हो हामी ।“ कुरागर्दै जाँदा उनको अर्को फोन आयो उनले फोनमा उत्साहित हुँदै कुरा गर्दै थिए बधाई पाएर होला ल धन्यबाद भन्दै थिए छोटकरीमा कुरा टुंग्याएर फेरी आमालाई फोन गरे “आमा मेरो फेरी लुम्बिनी प्रदेशमा पनि नाम किस्क्याछन् साथीले भर्खरै फोन गर्या थे “ आमालाइ फेरी अर्को खुसीको खबर सुनाउँदै भने “अब १५/२० मिनेटमा बस्ने ठाउँमा पुगेर फोन गर्न्या छु ।“
भर्खरै गण्डकी प्रदेश लोकसेवाबाट छनोट भै हाजिर भएको २ हप्ता पनि भएको छैन फेरी लुम्बिनी प्रदेशबाट पाँचौं तहमा सिफारिस भएका रहेछन उनि । अलमलमा परेजस्तो गरि मलाइ सोधे “के गरौँ सर ? गुर्जा बिकट छ, लुम्बिनी प्रदेशका जिल्ला त अल्ली सहज होला है सर ?” म झनै अलमलमा परें के जवाफ दिउं ? यति कुरा गर्दागर्दै हामी लुलांग पुग्यियो । बेलुकीको साढे आठ बजिसकेको थियो । हामी लुलांग होम स्टेमा संगै बस्यौं । चिसो निकै थियो तातो तातो भात सिमिको दाल आलु र च्याउको तरकारी लेकाली साग जाडो, थकान र भोकलाई एकै चोटी मेटाईयो र सुत्ने कोठामा छिर्यौँ ।
बेनीबाट बिकट मानिने लुलांगमा राम्रो होम स्टे संचालनमा रहेछ । स्थानीय रतिमया बिकले संचालन गर्नुभएको लुलांग होम स्टे ब्यबस्थित र सुबिधा सम्पन्न थियो । अंकित र म ओल्लो पल्लो खाटमा सुतेर करिव २ घण्टा गफियों । उनले मलाई उही कुरा घरिघरि सोधिरहेका थिए । म भने उनको प्रशंशा गरिरहेको थिएँ । कक्षा १२ सक्ने बित्तिकै २१ वर्षको कलिलो उमेरमा लोकसेवा पास गरेर निजामति कर्मचारी भै सरकारी सेवामा प्रवेश गरेका भाइको क्षमता मिहेनत र लगनशिलताको प्रशंशा गरिरहेको थिएँ । “सर के गरौँ ? लुम्बिनी जाउँ की के गरौँ?” उनले मलाइ फेरी त्यहि कुरा सोधे । मैले उनलाई केहि सल्लाह दिएँ “भाइ चौथो र पाँचौं तहमा खासै भिन्नता छ जस्तो लाग्दैन (बेतन, सेवा सुबिधा) । अनि गुर्जा भनेको कामको त्यति धेरै चाप हुने ठाउँ हैन । हजुरले २-३ वर्ष त्यहाँ बस्नुभयो भने राम्रो हुन्छ । भर्खरै १२ पास गर्नुभएको छ, क्याम्पस भर्ना हुनुस् सके नियमित नसके पनि बर्षको २-३ वटा जति सक्न्हुन्छ विषय पास गर्दै जानुस चौथो वर्षामा पुग्दा अल्ली मेहेनत गर्नुभयो भने सबै वर्षको बाँकी रहेका विषयहरु एकैचोटी पासगर्न सक्नुहुन्छ तपाईं अधिकृत तहको लागी योग्य हुनुहुन्छ ।तपाइंलाई मेरो सुझाव ठिक लाग्दछ भने त्यसै गर्नुस” भन्ने सुझाव दिएपछि उनले त्यसै गर्नुपर्ला भने । भोलि बिहानै ५:३० बजे लुलांगबाट गुर्जा जानु पर्नेछ । जिप देउरालीसम्म जान्छ देउराली बाट ३ घन्टामा गुर्जा पुगीन्छ । सामान लिएर जाने जिपले ५:३० बजे नै जाने भए जाउँ भनेको थियो । त्यसैले मैले पनि भोलि उनीसंग देउरारी सम्म भएपनि जाने बिचार गरें किन कि म अहिले सम्म गुर्जा पुगेको छैन ।
बिहान चिसो पानीले नाकको चुच्चो पखालेर सिलटिमुर हालेको चिया पिएर जिप चढ्यौं । एकरात र केहि घन्टाको साथले उनीसंग राम्रै चिनजान भएको थियो । देउराली पुगेपछि उनि छुट्टीए म त्यहि जिपबाट लुलांग फर्किएँ ।
बाटोमा मनमा निकै कुरा खेले । देशमा रोजगारी छैन भन्दै दिनदिनै त्रिभुवन अन्तराष्ट्रिय बिमनास्थालामा देश छोड्नेको लर्को छ । कक्षा १०/१२ का विद्यार्थीहरुलाई सोध्यो भने सबै विदेश जाने हो भन्छन । उता कर्णालीका अंकित निजामती सेवामा प्रवेश गरेका छन् । उनका अनुसार कर्णाली तिर त विदेश जाने त्यति लहर छैन । सकभर सरकारी कर्मचारी र शिक्षक बन्ने चाहना राख्छन् । हुन पनि हो म्याग्दीको धौलागिरि गाउँपालिकामा धेरै जसो शिक्षक लुम्बिनी प्रदेश (रुकुम रोल्पा, दाङ्ग) तिरका छन् । मलाई अंकित युवा-युबतिको लागी प्रेरणाको श्रोत लाग्यो ।
अंकितले देखेको सम्भावना अरुले किन नदेख्ने । विदेश जानु नराम्रो हैन तर लहडमा लागेर देशमा केहि छैन भनेर देश छोड्ने धेरै छन् । शिक्षण पेशामा लाग्ने नयाँ पुस्ता पाउने कठिन छ । निजामती सेवाप्रति केहि भए पनि आकर्षण छ तर त्यति प्राथमिकतामा राख्दैनन् । राज्यले शिक्षकलाई पनि निजामती सरह सेवा सुबिधा र सम्मान प्रदान गर्ने हो भने यसतर्फ आकर्षण बढ्न सक्दो हो भन्ने मलाइ लागेको छ । जे होस् अंकित संगको छोटो बसाइ र यात्राले मलाइ निकै आनन्दित बनाएको छ । छिट्टै अंकितलाई पदोन्नती भएको सुन्न देख्न पाइयोस ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )