कृष्ण जि.सी./पर्बत, मंसिर-६, यतिबेला नेपाली सिने जगतमा “पूर्ण बहादुरको सारंगी” को खुब चर्चा छ । नहोस पनि किन जवकी यस चलचित्रले नेपाली सिने जगतमा इतिहास नै रचेको छ । चलचित्रको सफलताको भिभिन्न पक्षको विश्लेषण गर्दा गीत संगीत पनि यसको एउटा बलियो पक्ष छ । यस चलचित्रमा समाबेश भएका सबै गीत असाध्यै चर्चित छन् । तर रैयाँ चाँदीको गीतले एक फरक स्वाद थपेको छ । त्यसैले यसको चर्चा फरक ढंगले गरिएको छ । युट्युबमा यसलाई ९२ लाख भन्दा बढी हेरिएको छ । आठ मिनेट लामो गीत गायक आशिष अविरल र गायिका मेलिना राईले गाउनु भएको छ । गीतमा सङ्गीत पनि गायक अविरलकै रहेको छ । यसको शब्द नवराज पन्तले लेख्नुभएको हो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरका गीतकार पन्तका लागि यो गीत, गीत लेखनको यात्रामा नयाँ मोड बन्न आइपुगेको छ । ‘सालको पातको टपरी जस्ता सर्वाधिक सफल लोकदोहोरी गीत रचना गरेका पन्तको चलचित्रका लागि यो पहिलो अनुभव हो । हाल अमेरिकामा रहेका गीतकार पन्त डेढ दशकदेखि गीत लेखनमा सक्रिय हुनुहुन्छ । पन्तले लेखेका ‘सालको पातको टपरी, ‘डाँडै फर्के सल्लो, ‘मायालुको शहरमा…लगायत गीत चर्चित छन् ।
रैयाँ चाँदीको एउटा सुखद संयोग रहेको छ । गीतकार नवराज पन्त र गायक संगीतकार दुवै बाग्लुंग जिल्लाका हुनुहुन्छ । अविरल बाग्लुङको मल्ममा जन्मनुभएको हो । त्यसैले संगीतकार आशिष अविरले ग्रामिण बोलीचालीका शैलीमा शब्दलाई उच्चारण गर्नुभएको छ । आफैमा कुशल संगीतकार संगीतको राम्रो अध्ययन गरेका अबिरलले गीत एरेंजमा कुनै कसुर बाँकी राख्नुभएको छैन । मौलिक बाजा र आधुनिक बाजाको धुनलाई सुन्दर संयोजन गरेर गीतको शृंगार गर्नुभएको छ ।
अब चर्चा गरौँ यो गीत किन अरु भन्दा मलाइ फरक लाग्यो भन्ने बिषयमा । नेपाली चलचित्रमा लोक शैलीका गीत पहिले देखि नै समाबेश गरिदै आएको छ । अझै यो चलचित्रमा ३०/४० को दशकको परिवेशलाई उठाउन खोजिएको छ । रोधी बस्ने परम्परा, दोहोरी गाउने र शर्त राखेर हारजितको टुंगो लगाउने चलनलाइ ताजा बनाउन खोजिएको छ । यस गीतमा पहिले भन्दा नयाँ प्रयोग गरिएको छ । यस गीतको शैलिले प्रतक्ष्य दोहोरीमा नयाँपाना ल्याउने निश्चित छ । त्यो सुन्दर पक्ष भनेको अन्तरा गाइसकेपछी, अन्तरा नदोहोर्याउनु र पुरै स्थायी न गाउनु हो । सामान्यतया: दोहोरीमा अन्तरा गाइसकेपछी त्यसलाई दोहोर्याएर गाउने र स्थायी गाउने गरिन्छ तर यहाँ त्यस्तो गरिएको छैन जस्तै :
केटा: किन आँखा पारेको मरक्कै, अल्लि वर सरन सरक्क (अन्तरा न दोहोराइएको )
रैया चादीको ….. पुरै स्थायी न गाइएको
केटी: नटास्सिअ खुदोमा मौरी झें, देख्छु अनुहार कुच्चेको गाउरी झैं (अन्तरा न दोहोराइएको )
रैया चाँदीको….. पुरै स्थायी न गाइएको
यहाँ केटा र केटीले दुइ-दुइ टुक्का गाइसके पछी स्थायी पुरै गाईएको छ । यस्तो गर्दा सुन्नेलाई सवाल जवाफ सुन्न आनन्द आउँछ किनकि सवाल जवाफ छिट्टो छिट्टो हुनेगर्छ । अहिलेसम्म अन्तरा दोहोर्याउने र स्थायी पनि दोहोर्याउने गरिएको छ । त्यस्तै अर्को नौलो प्रयोग भनेको मात्रा उत्ति नै र उही लयमा स्थान फेरेर गाइएको अर्को भाग पनि छ । जस्तै:
केटा : कोइला रातो आगोमा जलुन्जेल, पछीलाउने हुन्छ्यौ रात ढलुन्जेल
रैया चादीको …. पुरै स्थायी न गाइएको
केटी: घाम सत्तुर मान्दैन छायाँले, खोलो माथि फर्किन्न मायाँले
रैया चादीको …. पुरै स्थायी न गाइएको
यी दुवैको गति, यति र लय उही छ तर नोटको स्थान फेरेकोले मात्रै पनि फरक सुनिन्छ । जसलाई संगीतकारको अत्यन्तै कुशलता मान्नु पर्दछ ।
त्यति मात्रै हैन गीतमा गन्धर्वको मौलिक शैली “करखा/कर्खा “ पनि गाइएको छ । त्यो कर्खामा पनि केटा केटीको दोहोरी छ । यो पनि नयाँ प्रयोग हो जस्तो मलाइ लागेको छ ।
संगीतकार अविरल आफैमा पनि लोक गायनबाट संगीत यात्रा शुरु गरेका र पछी एरेन्ज हुँदै संगीतकार बन्नुभएको ब्यक्ती हो । उहाँ संगीतको राम्रो अध्ययन/अनुभव संगालेको ब्यक्ती समेत भएका कारणले गीतको कुनै पक्षमा पनि खोट लगाउने ठाउँ देखिदैन । त्यति हुँदाहुँदै पनि गीतमा एक ठाउँमा किन त्यसो गरियो होला भन्ने मलाइ लागेको छ । गीतमा अत्यन्तै ठेट शब्द, मौलिक शब्द र जनाबोलिका शब्द प्रयोग भएका छन् । जस्तै शुरुको सम्बादमा “हारे स्वास्नी बन्न तयार छे” यसमा श्रीमतीको सट्टा स्वास्नी, नटाँस्यौ-नटास्सिअ, जून लागेसी-लाएसी, पकाएर- पकार, आरन-यारन, डुब्यो- डुबो…
कर्खा भाखामा: मोही-महि, मुन्टो- टाउको जस्ता जन जिब्रोका मौलिक शब्द प्रयोग भएका छन् । त्यसो त गीतका शब्दलाई मात्रा मिलाउन, अनुप्रास मिलाउन त्यसरी उच्चारण गरिने भएपनि यो गीतमा त्यसो नभई जनबोलीलाइ नै केन्द्रमा राखेर त्यसरी गाइएको हो भन्ने मलाइ लागेको छ । जसले श्रोतालाई त्यहि परिबेशमा पुर्याएको भान हुन्छ । त्यो अविरलको कुशलता हो तरपनि स्वयं बाग्लुंगे भएर गण्डक र धौलागिरि क्षेत्रको शब्दोच्चारणको शैलीलाई “एक ठाउँमा किन कन्जुस्याइ गरे होलान” भन्ने मलाइ लागेको छ ।
यस क्षेत्रमा बाग्लुंगलाइ बाउलुंग भनिन्छ । अविरलले गीतमा “म त बाग्लुंगे” भन्नुभएको छ । त्यसमा म त बाउलुंगे भनेको भए अझै मौलिक सुनिने थियो होला । यो क्षेत्रमा कुनैकुनै शब्दको उच्चारण आफ्नै शैलीको छ जस्तै: पोखरालाई “पखरा” बेनिलाई “बिनि” नाग्लिबांगलाइ “नाइलिबांग” सिंगानालाइ “स्याँना” भिमपोखरालाई “भ्याँपखरा” बलेवालाइ “बल्या” यस्तै यस्तै.. ।
हुन त गायकीका आआफ़्नै सीमा र मापदण्ड हुन्छन । गायकले बाग्लुंगलाइ बाउलुंग नभन्नुको पछाडी पनि कुनै कारण अवस्य होला । समग्रमा नेपाली लोक गीत संगीतमा विभिन्न कोणबाट नयाँ अभ्यास गरिएको यो रैयाँ चाँदीको गीतले अवको लोकगीतलाई फरक धाराबाट लैजानेछ भन्ने मलाइ लागेको छ । जेहोस गीतले चलचित्रलाई थप सिंगारेको छ । छिट्टै करोड क्लवमा पुगोस शुभकामना ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )