जलजला, साउन-१८, जलजला गाउँपालिकाले लक्षित समुदायलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न शुरु गरेको छ । गाउँपालिका बासीहरूले बिहीबार पहिलो पटक यो सेवा प्रयोग गर्न थालेका छन्। जलजला वडा नं ८ की सुत्केरी प्रमिला विश्वकर्मालाई गाउँपालिकाले घरबाटै धौलागिरी अस्पताल, बागलुङसम्म निशुल्क सेवा प्रदान गरेको छ।
गाउँपालिकाले गत हप्ता गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, विपन्न र अपाङ्गता भएका व्यक्तिहरूका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले भन्नुभयो, “उघोषणापछि यो पहिलो निशुल्क सेवा हो। हामी सेवा लिने व्यक्तिहरूबाट सुझाव लिइरहेका छौं र यसलाई थप व्यवस्थित बनाउनको लागि काम गर्दैछौं।”
सुत्केरी र गर्भवती महिलासँगै स्वास्थ्यकर्मीलाई पनि एम्बुलेन्समा राखिन्छ र कुनै समस्या आएमा तुरुन्तै जानकारी दिइन्छ। यस सेवा प्रति स्थानीय बासीहरू उत्साहित भएका छन् र सेवा प्रयोगमा चासो देखाएका छन्।
गाउँपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आकस्मिक उपचारका लागि, विपन्न र गरिब परिवारलाई, र ‘क’ र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएका व्यक्तिहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेछ। यस सेवाको प्रयोग स्थानीय स्वास्थ्य संस्थाको सिफारिसमा मात्र गर्न सकिन्छ।
सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, असाहय र अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क संकलन गर्दै गाउँपालिकाले दुर्गम बस्तिमा यातायातको अभावका कारण समस्यामा पर्ने व्यक्तिहरूलाई यो सेवा प्रदान गर्ने योजना बनाएको छ। जलजला गाउँपालिकाले सेवा प्रवाहलाई मध्यनजर गर्दै आफ्नो प्रतिबद्धता देखाउँदै चालेको यो अत्यन्त महत्वपूर्ण कदम हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )