नेपालजस्तो विकासोन्मुख देशमा स्थानीय शासन व्यवस्थालाई सुदृढगर्दै महिलाहरूको शसक्तिकरणका लागि विविध कार्यक्रमहरू सञ्चालनमा छन् । यसै सन्दर्भमा, आमा समुहसंग उपमेयर कार्यक्रम एक महत्वपूर्ण कदमको रूपमा देखा परेको छ । यो कार्यक्रमले महिलाहरूको आवाजलाई स्थानीय प्रशासनसम्म पुर्याउने र तिनका समस्या समाधानमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्य राखेको छ ।
आमासंग उपमेयर कार्यक्रमको मुख्य उद्देश्य महिलाहरूलाई सशक्त पार्दै तिनका समस्याहरूको समाधान खोज्नु हो । यस कार्यक्रम अन्तर्गत, नगरपालिकाका उपमेयरले नियमित रूपमा महिलाहरूसंग भेटघाट गरी तिनका समस्या, सुझाव र आवश्यकताहरू सुन्ने गर्छन् । कार्यक्रमले महिलालाई आर्थिकरुपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी बनाउँदै सामाजिकरुपमा सशक्तीकरण गर्ने उद्देश्य लिएको छ । यस कार्यक्रमले महिलाहरूलाई आफ्नो आवाज उठाउन र समस्याहरूको समाधान खोज्न प्रेरित समेत गरेको छ ।
यस कार्यक्रम अन्तर्गत, महिलाहरूलाई विभिन्न सरकारी योजनाहरू, स्वास्थ्य, शिक्षा, सरसफाइ, र अधिकारका बारेमा जानकारी प्रदान गरिन्छ । कार्यक्रमले महिलाहरूबीचको सम्बन्ध र सहकार्यलाई मजबुत बनाउन सामूहिक प्रयासहरूलाई प्रोत्साहित गरी महिलाहरूले एकअर्कालाई सहयोग र समर्थन गर्नसक्ने वातावरण सिर्जना गरेको छ ।
म्याग्दी जिल्लाको एकमात्र नगरपालिका, बेनी नगरपालिकाका विभिन्न वडाहरुमा आमासंग उपमेयर कार्यक्रम संचालन गरिएको छ । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले उपप्रमुख ज्योति लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
। आमा समूहसँग उपमेयर कार्यक्रमलाइ प्रभावकारी बनाउन निर्देशिका २०७९ निर्माण गरि कार्यपालिकाको बैठकबाट बाट मिति २०७९ भदौ २१ गते स्वीकृत भइ कार्यक्रम संचालनमा रहको छ ।
बेनी नगरपालिकाका मेयर सुरत केसीका अनुसार महिलाहरुको शसक्तिकरणका लागी यो कार्यक्रम अत्यन्तै राम्रो कार्यक्रम भएकोले यसलाई कार्यपालिकाको पहिलो बैठकबाट पारितगरि लागु गरिएको हो । यो कार्यक्रम साविकक वडाहरुमा गठन भएका आमा समुहलाई शसक्तिकरण गर्नका लागी संचालन गरिएको हो । यसका लागी प्रस्ताव आव्हान गर्ने, मुल्यांकन र छनोट गर्दै कार्यक्रम लागुगर्ने कार्यविधि रहेको छ । यो कार्यक्रम लागुगर्दा खोलावारी र खोलापारीका वडाहरु समेटिने गरि एउटा आधार तय गरिएको छ । उहाँका अनुसार गतवर्ष भकिम्ली र घतानामा यो कार्यक्रम लागु गरिएको थियो भने यो वर्ष पात्लेखेत र भकुन्डेमा लागु भएको थियो ।
आमा समूहले महिला हिंसा विरुद्ध आवाज उठाउने तथा विभिन्न सामाजिक विकृतिहरु रोक्नुका साथै समाज सुधारको कार्यहरु समेत गर्दछन् । यस कार्यक्रमले हिंसा पीडित, प्रभावित एवम् आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक लगायतका क्षेत्रहरुमा सकारात्मक तथा रचनात्मक परिवर्तनका लागि समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमासमूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरी आयआर्जनका काममा संलग्न गराउन खोजेको छ । आमा समूहलाई परिचालन गरेर महिलाको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
नगरपालिकाक उपमेयर ज्योति लामिछाने भन्नुहुन्छ, “अहिले हाम्रो समाजमा पुरुष बिदेशिने र गाउँ घरमा महिला मात्र रहने अवस्था देखिएको छ, समाजका हरेक कार्यमा महिलाको जिम्मेवारी अहिले बढ्दै गैरहेको छ तर महिला अझै सामाजिक, सांस्कृतिक र मनोबैज्ञानिक तवरले शसक्त नरहेको अबस्थामा उनीहरुलाई शसक्तिकरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । ” स्थानीय श्रोत साधन र सिपको उपयोग र परिचालन गरेर विभिन्न आयमुलक तथा सिपमुलक कार्यक्रम आयोजना गरि आर्थिक रुपमा समेत आत्मनिर्भर बनाउने यो कार्यक्रमको उद्देश्य रहेको छ , गत वर्ष र यो वर्षको अनुभवले महिलाहरुमा सचेतना, सहकार्य, सह सम्बन्ध, र आत्मबोधको बिकास भएको देखिएको छ । त्यसैले चालु आर्थिक वर्षमा समेत यो कार्यक्रमलाई निरन्तरता दिइएको छ उहाँले भन्नुभयो ।
कार्यक्रम कार्यान्वयन गर्नको लागी नगरपालिकाका सबै वडा समेट्ने गरी नगरपालिकाले शुरुवातमा वडाहरुबाट प्रस्ताव आव्हान गर्दछ । नगरपालिकामा प्राप्तहुन आउने प्रस्तावहरुको विश्लेषण गरी छनौट गर्नुपूर्व नगरपालिकाले आवश्यकता अनुसार स्थलगत अनुगमन गरि उद्यमशिलता प्रवर्द्धन गर्ने सक्रिय आमा समूहहरुको छनौट गर्दछ ।
छनोट भएकाआमा समूहहरुसंग नगरपालिकाले सम्झौता गरि कार्यक्रम संचालन गर्छ । तालिम कार्यक्रमको उपयोगिता, समाजमा पार्ने प्रभाव, महिलाहरुको जीविकोपार्जनमा पुर्याउन सक्ने योगदान, आयमा वृद्धि गराउन सक्ने सम्भावना समेतका आधारमा प्रति आमा समूह ५० हजार देखि ५ लाख रुपैयासम्म उपलब्ध गराउने गर्दछ ।
कार्यक्रम संचालन भए पश्चात नगरपालिकाले आवश्यकता अनुसार कार्यक्रमको शुरुवातमा, कार्यक्रम सञ्चालन भईरहेको अवस्थामा र अन्तिम चरणमा अनुगमन समेत गर्ने गर्दछ । अनुगमनको क्रममा सम्बन्धित आमा समूहलाई निर्देशन एवं सुझाव समेत प्रदान गर्ने गर्दछ । कार्यक्रम सम्पन्न भए पश्चात नगरपालिकाबाट कार्यक्रमको भुक्तानी गर्ने प्रक्रिया रहेको छ ।
आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९/८०मा २० लाख रुपैयाँ विनियोजन भएकोमा कार्यक्रमका लागि नगरपालिकाले वडा ३ र ९ लाई छनोट गरेको थियो । कार्यक्रम छनोट भएका बेनी नगरपालिका वडा नं ३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन शुरु गरेका छन् । तीन वटा समूहमा आवद्ध ३५ जनालाई खोर निर्माणका लागि अनुदान प्रदान गरिनुका साथै कुखुरापालन सम्बन्धी तालिम संचालन गरिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मै नगरपालिकाको वडा नं ९ को गलेश्वर आमासमूहमा आबद्ध २० जना महिलाहरुका लागि चप्पल बनाउने तालिम प्रदान गरिएको थियो । सो तालिम लिएपछि महिलाहरुले चप्पल बनाएर बिक्री समेत गर्न थालेका छन् । । भारतीय बजारमा उत्पादित चप्पल संग प्रतिस्पर्धा गर्न नसक्ने भएकोले अहिले गलेश्वोरमा धार्मिक मेलापर्व लाग्दा सो अवसरमा स्टल राखेर बिक्रि वितरण गर्ने गरिएको र महोत्सव जस्ता कार्यक्रममा मात्रै बिक्रि वितरण गर्ने गरिएको गलेश्वोरधाम आमा समुहका अध्यक्ष फुल कुमारी गर्बुजाले बताउनुभयो ।
त्यसैगरी वडा नम्बर ९ मा उत्साही आमा समूहको आयोजनामा तोरीपानीमा आलुको चिप्स र नेप्टेचौरमा घतान मुल आमा समूहको आयोजनामा नमकिन र दालमोठ बनाउने तालिम प्रदान गरिएको थियो । सोहि कार्यक्रम अन्तर्गत सामाजिक समस्याका रुपमा देखिएको लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि टोलस्तरमा सचेतनामूलक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा साबिकको घतानका १७ वटा आमासमूहलाई तीन वटा समूहमा विभाजन गरेर कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रमलाई निरन्तरता दिंदै आर्थिक वर्ष २०८०/८१ मा बेनी नगरपालिका वडा नं २ भकुन्डे, खबरा र वडानं १० पात्लेखेतमा आमासंग उपमेयर कार्यक्रम सम्पन्न गरेको छ ।
समुदायमा सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत–साधन उपयोग गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रमको उद्देश्य अनुसार यो कार्यक्रम सम्पन्न गर्न २० लाख रुपैयाँ विनियोजन भएको थियो ।
बेनी नगरपालिकाको वडा नं २ मा केराको थामबाट धागो र स्थानीय तितेपाती प्रयोग गरेर साबुन बनाउने तालिम सम्पन्न भएको छ । भकुन्डे र खबरामा रहेका १४ वटा आमा समूहका ५० जना सहभागी तालिम एक सातासम्म सञ्चालन भएको थियो । तालिम लिएपछि महिलाहरु उत्साहित भएर उत्पादनमा लागेका छन् ।
त्यसैगरी नगरपालिकाको वडा नम्बर १० पात्लेखेतमा २० जना महिलाहरुलाई ४५ दिनसम्म नौमती बाजा बजाउने तालिम दिइएको छ । तालिममा सहभागीहरुका लागि दुई सेट नौमती बाजाका सामग्री पनि उपलब्ध गराएको बेनी नगरपालिका-१० का अध्यक्ष मसबिर रोकाले बताउनुभयो । सिप र सामग्री पाएपछि पात्लेखेतका महिलाहरुले व्यवसायिक रुपमा बाजा बजाउन थालेका छन ।बाजा बजाउन सिकेपछि एकातिर संस्कृतिको संरक्षणका साथै आवश्यकताको परिपूर्ति गर्न उपयोगी भएको सहभागीले बताउदछन् ।
नगरपालिकाले नौमती बाजा तालिम सञ्चालन र सामग्री खरिदमा ६ लाख रुपैयाँ बिनियोजन गरेको थियो । यसैगरी ३ लाख रुपैयाँको बजेटबाट महिलाहरुलाई कुटानी, पिसानी रैथाने बाली प्रशोधन र भण्डारणमा सजिलो होस् भनेर ११ वटा कम्बाइन्ड मिल र प्याकेजिंग मेशिन उपलब्ध गराइएको छ ।
नगरपालिकाको पात्लेखेत क्षेत्र बिउ बिजन उत्पदनाको लागी मुख्य क्षेत्र भएको र सो क्षेत्रमा रायो, सिमि लगायतका रैथाने बालीको बिउ उत्पादन हुनेगरेको छ त्यहाँ उत्पादित बिउ देश तथा बिदेशमा समेत निर्यात हुने गरेकोले त्यसलाई अझै ब्यबस्थित बनाउन प्याकेजिंग मेशिन वितरण गरिएको मेयर सुरत केसीले बताउनुभयो
समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन कार्यक्रम मार्फत सिप र प्रविधि सहयोग हो ।।
आमासंग उपमेयर कार्यक्रमले गर्दा महिलाहरुमा शाशक्तिकरण, सचेतना संगै आत्मविश्वास बढेको र आय आर्जनाका लागी अवसर प्राप्त भएको छ । साथै, महिलाहरूको सुझाव र आवश्यकताहरूको आधारमा नीतिनिर्माण गरिँदा, स्थानीय प्रशासनको कार्य प्रभावकारी बनेको छ । कार्यक्रमले महिलाहरुलाई विभिन्न सिप सिकेर आय आर्जनका लागी आधार तय भएको र ब्यबसायिक बन्न सहयोग पुगेको छ
कार्यक्रमको माध्यमबाट महिलाहरूमा शिक्षा र सचेतना फैलाउनुका साथै तिनको सामाजिक सहभागिता बढ्न मद्दत पुगेको छ। स्वास्थ्य, शिक्षा, र अधिकारबारे जानकारी पाउँदा महिलाहरू आफ्नो दैनिक जीवनमा सुधार ल्याउन सक्षम भएका छन् । साथै, महिलाहरूबीचको सहकार्य र समर्थनले समुदायमा एकताको भावना जागृत गराएको छ ।
आगामी दिनहरूमा पनि महिलाहरूको सक्रिय सहभागिताले समाजको समग्र विकासमा ठोस योगदान पुर्याउने भएकाले यस्ता कार्यक्रमहरूको प्रभावकारिता अझै बढाउन आवश्यक छ । स्थानीय सरकार र समुदायबीचको सम्बन्ध मजबुत पार्दै महिलाहरूको सशक्तिकरणको लक्ष्य प्राप्तगर्ने दिशामा यस्ता कार्यक्रमहरूको निरन्तरताले महिलाहरूको सशक्तिकरणलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )