पर्वत, असार-६, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतमा पर्ने मालढुङ्गा-बेनी सडक कालोपत्र गर्न शुरु गरिएको छ । निर्माण सामग्रीको अभाव लगायत विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले अलपत्र पार्दै आएको सडक चार वर्षपछि कालोपत्रगर्न शुरु भएको हो । १३ किलोमिटर लामो मालढुंगा-बेनी सडक अन्तर्गत अहिले मालढुंगा देखि फर्सेसम्म कालोपत्र गरिने भएको छ ।
मालढुंगादेखि फर्सेसम्मको पाँच किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले बेस विच्छ्याउने, लोडरले अठ्याउने काम भैरहेको कालीगण्डकी कोरिडोर मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ । जलजला गाउँपालिका वडा नं. ८ फर्सेवाट मालढुंगातर्फ पिच गर्दै जाने तयारी भएको आयोजनाका साईड इन्जिनियर अच्युतविलास पन्तले जानकारी दिनुभयो। पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि झण्डै सात किलोमिटर बाँकी रहने छ । भौगोलिक रुपमा कमजोर रहेको दुई किलोमिटर सडक भने पहिलेनै ढलान गरिसकिएको इन्जिनियर पन्तले जानकारी दिनुभयो ।
कालोपत्र गर्नका लागि मालढुंगा-बेनी सडक १३ दिन बन्द गरिने भएको छ । असार ८ गते शनिवारदेखि असार २० गतेसम्म सडकमा सवारीसाधन संचालन गर्न रोक लगाएर धमाधम कालोपत्र गर्न लागिएको निर्माण कम्पनी एपेक्स-खड्का-कृष्ण जेभीका प्रतिनिधि नरबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम अनुकुल भएमा १३ दिनमा कालोपत्र गर्ने काम सकिन्छ । कालोपत्र गर्ने अवधिमा अत्यावश्यक सवारीका साधन भने संचालन गर्न दिने सहमति भएको छ ।
बिहीवार जिल्ला प्रशासन कार्यालय पर्वतमा भएको बैठकमा सडक कालोपत्रे गर्ने अवधिमा एम्वुलेन्स, स्कुलबस, दुध तथा तरकारीका गाडीहरुलाई भने निर्वाध चल्न दिईने निणर्य भएको हो। उक्त अवधिमा बागलुङतर्फको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )