बेनी, जेठ-२०, म्याग्दीको बेनी नगरपालिकाले मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम दिएको छ । टोल, समुदाय स्तरमा विवाद निरुपणमा खटिने मेलमिलापकर्ताहरुका लागि जेठ १३ गतेदेखि शुरु भएको आधारभूत तालिम आइतबार सम्पन्न भएको हो । तालिममा नगरपालिकाको १० वटै वडाका ३२ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको बेनी नगरपालिकाको न्यायिक समितिका उजुरी प्रशासक प्रभा शर्माले बताउनुभयो ।
तालिमको समापन कार्यक्रममा म्याग्दी जिल्ला अदालतका न्यायाधिश प्रकाश प्रसाद पण्डीतले मेलमिलापकर्ताहरुले कसैको पक्ष नलिई विकल्पहरुमा विवादको पक्ष र विपक्षलाई छलफल गराई मेलमिलाप हुने भूमिका खेल्नुपर्ने बताउनुभयो । तटस्थ भूमिका निर्वाह गर्न, नायायज इच्छा नराख्न आग्रह गर्नुभयो । गाउँघरमै बिवादको निरुपण हुँदा अदालतमा मुद्दाको चाप घट्ने, नागरिकलाई समय र खर्चको बचत हुने न्यायाधिश पण्डितको भनाई थियो ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापनाका लागि गत वर्षनै सामग्री व्यवस्थापन भएको र यसपाली मेलमिलापकर्ता सूचिकरण गरेर वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्न लागेको बताउनुभयो ।
तालिममा सहभागि मेलमिलापकर्ताहरुलाई सूचिकृत गरेर वडा स्तरमा विवाद निरुपणका लागि परिचालन गर्ने तयारी भएको उपप्रमुख लामिछानेले बताउनुभयो । तालिमका प्रमुख प्रशिक्षक हरिप्रसाद पण्डितलाई सहभागीले सम्मान र बिदाई गरेका थिए ।
तालिममा सहभागी लिलाराम गौतम र सिता कार्की बानियाले तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञान सिप परिचालन गरेर समाजमा विवाद निरुपणको भूमिका खेल्ने बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )